स्वान्त साख्य परोपकार संस्थाद्वारा जानकी माविका २७ बालबालिकालाई न्यानो पोषाक वितरण

Share:

पोखरा। स्वान्त साख्य परोपकार संस्थाले बढ्दो जाडो मौसमलाई मध्यनजर गर्दै जानकी माध्यमिक विद्यालयका नर्सरी र कक्षा एकमा अध्ययनरत २७ जना बालबालिकालाई न्यानो पोषाक वितरण गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा संस्थाले टिसर्टसहितको ट्रयाकसुट सेट बालबालिकालाई हस्तान्तरण गरेको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले जाडोको समयमा न्यानो पोषाकले बालबालिकाको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले सामुदायिक विद्यालयमा आवश्यक भौतिक संरचना र योग्य शिक्षक हुँदाहुँदै पनि अपेक्षित शैक्षिक गुणस्तर कायम हुन नसकेको उल्लेख गर्दै त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच सामूहिक प्रयास आवश्यक रहेको बताए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सिता काफ्ले भण्डारी, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तुलसी गिरीलगायतले बालबालिकालाई पोषाक वितरण गरेका थिए। वितरण समारोहमा प्रत्येक विद्यार्थीका अभिभावकको समेत सक्रिय सहभागिता रहेको थियो।

स्वान्त साख्य परोपकार संस्था सामाजिक सेवामा सक्रिय रहँदै आएको संस्थाका प्रतिनिधिले जनाएका छन्। संस्थाले पोखरा विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा विपन्न वर्गका बिरामीलाई उपचार सहयोग गर्दै आएको छ भने बालश्रम न्यूनीकरणका लागि विद्यालय सञ्चालन गरी करिब ७० जना बालबालिकालाई नियमित पठनपाठनमा जोड्दै आएको छ। साथै ती बालबालिकाका अभिभावकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाइएको छ।

सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै गरिएको यस सहयोग कार्यक्रमले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: