
पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खेमबहादुर गुरुङ निर्विरोध चयन भएका छन्। विद्यालय व्यवस्थापन समितिको बिहीबार सम्पन्न बैठकले सदस्यहरूमध्येबाट गुरुङलाई अध्यक्षमा चयन गरेको हो। यसअघि सम्पन्न अभिभावक भेलाबाट खेमबहादुर गुरुङसहित सबिना गौतम र दलबहादुर पुन सदस्यमा चयन भएका थिए।
त्यसैगरी वडा शिक्षा समितिले सिता बस्ताकोटी र इश्वरी कुमारी जिसीलाई सदस्यमा मनोनित गरेको थियो भने विद्यालय व्यवस्थापन समितिको बैठकले कर्णबहादुर जिसीलाई सदस्यमा मनोनित गरेको छ। शिक्षक अभिभावक संघको अध्यक्षमा भने यसअघि नै मथुरा प्रसाद श्रेष्ठ निर्वाचित भइसकेका छन्।
नवगठित विद्यालय व्यवस्थापन समितिलाई बधाई दिँदै पोखरा महानगरपालिका वडा नं। २६ का अध्यक्ष नरेन्द्र थापाले शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए। उनले राजनीतिक आस्थाका कारण कतिपय विद्यालयमा व्यवस्थापन समिति गठनमा समस्या देखिने गरेको उल्लेख गर्दै विद्यालय सुधार योजनामा कुनै पनि वाद हावी हुन नहुने स्पष्ट पारे।
“हामीले कुनै पार्टी वा आस्थाका आधारमा होइन, सक्षम व्यक्तिलाई काम गर्ने अवसर दिनुपर्छ,” अध्यक्ष थापाले भने, “म आफैं राजनीतिभन्दा माथि उठेर वडामा विकास निर्माण र शिक्षासम्बन्धी काम अघि बढाइरहेको छु।”
अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै खेमबहादुर गुरुङले लामो समय विभिन्न संघसंस्थामा आवद्ध भएर हासिल गरेको अनुभवलाई उपयोग गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले विद्यालयमा सुविधासम्पन्न भौतिक पूर्वाधार हुँदाहुँदै पनि विद्यार्थी संख्या अपेक्षित रूपमा नबढ्नु चिन्ताको विषय रहेको बताउँदै यसतर्फ विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
