पोखरा ताररहित सहर बन्दै, २३ किमी क्षेत्रमा भूमिगत विद्युत् र इन्टरनेट विस्तार

Share:

पोखरा । पोखरा महानगरपालिकालाई पोल तथा ताररहित सहर बनाउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत तार भूमिगत गर्ने कार्य तीव्र रूपमा अघि बढाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक, रत्नचोक, राष्ट्रबैंकचोक, शहीदचोक, लेकसाइड, हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा हाल तीव्र गतिमा तार भूमिगत गर्ने काम भइरहेको छ।

यसै सन्दर्भमा पोखरालाई पूर्ण रूपमा पोल तथा ताररहित बनाउने उद्देश्यले नगर प्रमुख धनराज आचार्यले इन्टरनेट सेवा प्रदायकहरूसँग छलफल गरेका छन् । छलफलमा पोखरा महानगरपालिकाको करिब २३ किलोमिटर क्षेत्रमा विद्युत् प्राधिकरणले गरिरहेको भूमिगत योजनासँगै अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेट सेवा समेत भूमिगत गर्ने सम्भावनाबारे विचार-विमर्श गरिएको थियो।

छलफलका क्रममा नगर प्रमुख आचार्यले सेवा प्रदायकहरूलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवा विस्तारमा सहकार्य गर्न सुझाव दिए। पोखराको सहरी सौन्दर्यमा प्रत्यक्ष नकारात्मक असर पारिरहेका अव्यवस्थित तारहरूको व्यवस्थापनका लागि यो महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले प्राधिकरणको योजनामा सहभागी भई पोखरालाई ताररहित सहर बनाउने अभियानमा सहयोग गर्न आग्रह गरे।

नगर प्रमुख आचार्यले बिजुली तथा अन्य पोलहरूमा अव्यवस्थित रूपमा झुण्डिएका अनावश्यक तारहरू तत्काल हटाउन निर्देशन दिँदै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको स्पष्ट पारे। उनले एक महिनाभित्र तार नहटाए महानगरपालिकाले आफैं हटाउने चेतावनीसमेत दिनुभएको छ। सो अवधिमा तार व्यवस्थापनका लागि एक प्राविधिक समिति गठन गरी काम अघि बढाउन पनि निर्देशन दिइएको छ।

नेपाल विद्युत् प्राधिकरण पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार जुलाई २०२६ सम्म सम्पन्न गर्ने लक्ष्यसहित पोखरा महानगर क्षेत्रको २३ किलोमिटरमध्ये हालसम्म करिब ५६ प्रतिशत काम सम्पन्न भइसकेको छ। भूमिगत तार विस्तारसँगै पोखराको सहरी सौन्दर्य, यातायात व्यवस्थापन र सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: