
पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रबार “चाइनिज कल्चर एक्सपेरियन्स डे” भव्य रूपमा सम्पन्न भएको छ। कुमुदिनी होम्ससहित पोखराका ८ वटा विद्यालयमा चिनियाँ भाषा अध्यापन गराउँदै आएका ८ जना चिनियाँ स्वयंसेवक शिक्षकहरूले कार्यक्रममा चिनियाँ संस्कृति, भाषाका प्रारम्भिक अक्षर लेखन विधि, कागज काटेर विभिन्न आकृति निर्माण गर्ने कला, चपस्टिक खेललगायतका विषयमा सहभागी विद्यार्थीलाई प्रयोगात्मक प्रदर्शन गराएका थिए।
कार्यक्रममा कुमुदिनी होम्ससहित पोखराका ८ विद्यालयका प्रिन्सिपल, विद्यार्थी तथा काठमाडौंबाट आएका सेन्टर फर ल्याङ्ग्वेज एजुकेशन एण्ड कर्पोरेशनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागी पाहुनालाई कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले स्वागत गरेका थिए।
सो अवसरमा पालिखेले पर्यटकीय राजधानी पोखरामा चिनियाँ स्वयंसेवक शिक्षकमार्फत चिनियाँ भाषा शिक्षण उपलब्धिमूलक बन्दै गएको बताए। पोखरामा चीनबाट ठूलो संख्यामा पर्यटक आउने भएकाले भाषाको ज्ञानले भविष्यमा दोभाषेको भूमिका निर्वाह गर्न सकिने र आर्थिक अवसरसमेत सिर्जना हुने उनले उल्लेख गरे।
नेपाल–चीन सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै पालिखेले कलाकार अरनिकोको चीन यात्रा र भृकुटीको वैवाहिक सम्बन्धले भाषा, संस्कार, संस्कृति, शिक्षा, कृषि लगायत विभिन्न क्षेत्रमा समन्वय र सहकार्यको आधार तयार गरेको बताए।
एशोसिएशन अफ चाइनिज नेशनल्स एण्ड ओभरसिस् चाइनिज इन पोखराका उपाध्यक्ष सियाङ साओहुवा (नेपाली नाम सन्देश गुरुङ) ले कुमुदिनी होम्समा चिनियाँ संस्कृतिबारे जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरे। यस्ता प्रयोगात्मक कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलता र अन्तरसंस्कृतिक समझ बढाउने उनले बताए। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।
सुपरभाइजर अफ भोलन्टियर चाइनिज टिचर्स इन नेपाल तथा CLEC म्यानेजमेन्ट टिचर इन नेपाल याङ नियानले नेपाल र चीनबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यसलाई अझ प्रगाढ बनाउन शिक्षा, संस्कार र संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताए।
नेपालमा शिक्षा, कृषि, संस्कृति र उत्पादनका क्षेत्रमा चीनले सहयोग र समन्वय गर्दै आएको तथा पछिल्लो समय दुवै देशलाई अझ राम्रोसँग बुझ्न भाषिक कक्षा सञ्चालन हुँदै आएको जानकारी शिक्षक सुरेन्द्र सदिच्छाले गराए।
उनले चिनियाँ स्वयंसेवक शिक्षकहरूले यस अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताए। कार्यक्रम विद्यालयकी स्वयंसेवक शिक्षिका हान सिउयिङको संयोजनमा सम्पन्न भएको हो।
