
पोखरा। पोखरा-१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार भव्य रूपमा सम्पन्न भएको छ। समारोहको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले छोरेपाटन माविलाई समग्र पोखरा क्षेत्रकै गर्व गर्न लायक शैक्षिक संस्थाको संज्ञा दिए।
उनले विद्यालयप्रति अभिभावकको बढ्दो विश्वास र विद्यार्थीको आकर्षणले यसको गुणस्तर पुष्टि भएको बताए। प्रमुख आचार्यले पातले छाँगोसम्बन्धी विद्यालय र महानगरबीच भएको सहमति कार्यान्वयन हुने विश्वास दिलाउँदै उक्त सम्झौता विद्यालयकै हितमा भएको स्पष्ट पारे।
कार्यक्रममा पोखरा-१७ की वडाध्यक्ष राधिका शाही योगीले छोरेपाटन नमूना शैक्षिक संस्था भएको उल्लेख गर्दै विद्यार्थी आकर्षण यसको सबैभन्दा सबल पक्ष रहेको बताए। उनले महानगरको शिक्षा विनियमअनुसार विद्यालय व्यवस्थापन समिति गठन भएको जानकारी गराउँदै विद्यालयले वेजुरु क्रमशः घटाउँदै जानुपर्ने धारणा राखे।
पूर्व वडाध्यक्ष तीर्थराज अधिकारीले विद्यालय निर्माण र विकासका लागि सबै सरोकारवाला एकमत भएर अघि बढ्नुको विकल्प नभएको बताए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष सागर अधिकारीले सबै पक्षलाई समेटेर विद्यालयलाई अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्दै छिट्टै समितिलाई पूर्णता दिइने जानकारी दिए।
प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यालयले उल्लेखनीय प्रगति गरिरहेको बताउँदै ४ वर्षभित्र गण्डकी प्रदेशकै र ९ वर्षभित्र देशकै उत्कृष्ट विद्यालय बनाउने दीर्घकालीन योजनासहित विद्यालय अघि बढिरहेको जानकारी गराए।
समारोहमा वडा सदस्य विक्रम गुरुङ, पूर्व सदस्य खेमराज आचार्य, भूपू विद्यार्थी मञ्चका अध्यक्ष सालिकराम भण्डारी, शिक्षक भोजराज बराल तथा विद्यार्थी रचना ढकाल र सोहन कार्की लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै छोरेपाटन सबैको साझा प्रयासबाट गर्वलायक संस्था बनेको उल्लेख गरे।
विद्यालय अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक खेमराज बरालले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक-अभिभावक संघ अध्यक्ष इन्द्रबहादुर खत्रीले धन्यवाद ज्ञापन गरे। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले गरेका थिए । हाल विद्यालयमा २ हजार १ सय ६ जना विद्यार्थी अध्ययनरत छन् भने १ सय १० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
यसै अवसरमा जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटी पोखरा-१७ उपशाखाको समन्वय तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
जुनियर रेडक्रस सर्कल अध्यक्ष सुवाश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक नायक युवराज सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष सुभानी पौडेल र सचिव अनुष्का ढकालले कार्यक्रम सञ्चालन गरेका थिए।
उल्लेखनीय कुरा के छ भने छोरेपाटन माध्यमिक विद्यालयले विसं २०६४ सालदेखि निरन्तर रूपमा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ।




