नेपाल परिवार नियोजन संघ कास्कीको यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान निरन्तर

Share:

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभियानलाई निरन्तरता दिएको छ। २४ वटा विद्यालय तथा कलेजमा अभियान सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको उक्त अभियान हालसम्म १२ वटा विद्यालय तथा क्याम्पसमा सम्पन्न भइसकेको संघका सभापति नवीन सिग्देलले जानकारी दिए।

उनका अनुसार किशोर-किशोरी लक्षित सचेतनामूलक कार्यक्रममार्फत सुरक्षित, जिम्मेवार र जानकारीमूलक स्वास्थ्य व्यवहार विकास गर्ने उद्देश्य अभियानको रहेको छ। पछिल्लो चरणमा पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिकस्थित जन प्रकाश माध्यमिक विद्यालयमा अभियान सञ्चालन गरिएको हो।

कार्यक्रमको शुभारम्भ गर्दै वडा नं.२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियानले स्वास्थ्य र शिक्षा दुवै पक्षलाई सशक्त बनाउने उल्लेख गरे। उनले यस्ता कार्यक्रमले किशोर अवस्थामा सही जानकारी प्राप्त गर्न सहयोग पुग्ने बताए।

जन प्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्माले विद्यालयमा अभियान सञ्चालन गरेकोमा नेपाल परिवार नियोजन संघप्रति खुशी व्यक्त गर्दै विद्यार्थीहरूका लागि यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने धारणा राखे।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्की शाखाका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी तथा कर्मचारी सुरज चौधरीले सहजीकरण गर्दै यौन तथा प्रजनन स्वास्थ्य, किशोरावस्थाका चुनौती र सुरक्षित व्यवहारबारे जानकारी गराएका थिए।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले गरेका थिए। संघले आगामी दिनमा बाँकी विद्यालय तथा क्याम्पसहरूमा पनि अभियानलाई निरन्तरता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: