
पोखरा। पोखरा महानगरपालिका वडा नं. २४ स्थित लौरुक खोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ। पुलको शिलान्यास पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले शनिबार गरेका हुन् ।
शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख आचार्यले लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीय नागरिकहरूलाई पुल निर्माणपछि आवागमनमा ठूलो सहजता हुने विश्वास व्यक्त गरे। उनका अनुसार पुल निर्माण सम्पन्न भएपछि पोखरा महानगरपालिकाका वडा नं. २४, २३, १८ तथा अन्नपूर्ण गाउँपालिकाका बासिन्दाहरूलाई समेत पोखराको मुख्य बजारसम्म आउन-जान बाह्रै महिना सहज हुनेछ।
नगर प्रमुख आचार्यले पोखरा महानगरपालिकाबाट स्रोत व्यवस्थापनमा कुनै कमजोरी नहुने स्पष्ट पार्दै निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए। साथै, आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कामको स्थानीय तहबाट निगरानी र आवश्यक सहजीकरण गर्न स्थानीयवासीलाई अनुरोध गरे।
लौरुक खोलाको उक्त सडक पञ्चासे क्षेत्र जाने प्रमुख मार्ग भएको उल्लेख गर्दै नगर प्रमुख आचार्यले सडक स्तरोन्नतिका लागि विकास साझेदारसँग सम्झौता भइसकेको जानकारी दिए। उपलब्ध स्रोत-साधनको अधिकतम उपयोग गर्दै समृद्ध महानगर निर्माणको दिशामा पोखरा महानगरपालिका अघि बढिरहेको उनको भनाइ थियो।
२१.९ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको उक्त पुल आरसिसी बक्स ब्रिज संरचनामा निर्माण हुनेछ। पुल निर्माणको ठेक्का भदौरे निर्माण सेवाले पाएको छ। ३ करोड ७१ लाख रुपैयाँ लागत अनुमान गरिएको पुल २ करोड ५७ लाख ६५ हजार ४८४ रुपैयाँमा ठेक्का सम्झौता भएको हो। २०८३ साल पौष १३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कम्पनीले पुल तोकिएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा नं. २४ का वडा अध्यक्ष भरत बहादुर अधिकारी सहित वडा नं. २४ र २३ का जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

