
पोखरा । कास्कीको रूपा गाउँपालिकामा स्थापना भएको स्वर्गीय खेम बहादुर गुरुङ स्मृति संस्था ले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै शिक्षा र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिज २०८२ को अवसरमा संस्थाद्वारा आयोजित स्व. खेम बहादुर गुरुङ स्मृति कप साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको थियो।
उक्त प्रतियोगिताबाट बचत भएको रकम सामाजिक कार्यमा उपयोग गर्ने उद्देश्यअनुसार रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालय, कास्की मा अक्षय कोष स्थापना गरिएको हो।
विद्यालयको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर स्व. खेम बहादुर गुरुङ (माइला दाइ) स्मृति संस्था का संरक्षक तथा स्वर्गीय खेम बहादुर गुरुङका बुबा हर्क बहादुर गुरुङले ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरी विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरे।
स्थानीयवासी तथा संस्थाका सदस्य नवराज गुरुङले जानकारी दिँदै उक्त अक्षय कोषबाट विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको हितमा दीर्घकालीन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
छोराको स्मृतिमा स्थापना गरिएको यो अक्षय कोषले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै समाजमा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको स्थानीयवासीहरूले बताएका छन्।
