जाडोमा न्यानोपनः जानकी माविका २७ बालबालिकालाई ट्र्याकसुट वितरण

Share:

पोखरा । स्वान्त साख्य परोपकार संस्थाले जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो पोषाक वितरण गरेको छ। संस्थाले विद्यालयका नर्सरी र कक्षा एकमा अध्ययनरत २७ जना बालबालिकालाई टिसर्टसहितको ट्र्याकसुट सेट प्रदान गरेको हो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोला ले बढ्दो जाडोको मौसममा वितरण गरिएको न्यानो पोषाकले बालबालिकाको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले सामुदायिक विद्यालयमा भौतिक संरचना र योग्य शिक्षक हुँदाहुँदै पनि अपेक्षित शैक्षिक गुणस्तर हासिल हुन नसकेको उल्लेख गर्दै त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच सामूहिक प्रयास आवश्यक रहेको बताए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सिता काफ्ले भण्डारी, प्रधानाध्यापक अजर्न कडेल, शिक्षक तुलसी गिरीलगायतले बालबालिकालाई पोषाक वितरण गरेका थिए। वितरण समारोहमा प्रत्येक विद्यार्थीका अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो।

स्वान्त साख्य परोपकार संस्था सामाजिक सेवामा सक्रिय रहँदै आएको छ। संस्थाले पोखरा विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा विपन्न वर्गका बिरामीलाई उपचार सहयोग गर्नुका साथै बालश्रम न्यूनीकरणका लागि विद्यालय सञ्चालन गरी ७० जना बालबालिकालाई पठनपाठनमा जोड्दै आएको छ।

साथै, ती बालबालिकाका अभिभावकलाई लक्षित गरी सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: