दिपेन्द्र र एरिका वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान

Share:

पोखरा। पारा तेक्वान्दोकी ऐतिहासिक खेलाडी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ अन्तर्गत ‘ट्रेजब्लेजर अफ दि इयर’ अवार्डबाट सम्मानित भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार पोखराको राष्ट्रिय सभा हलमा आयोजना गरेको अवार्डको २२औँ संस्करण समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले पलेसालाई अवार्ड प्रदान गरे। एनएसजेएफ स्पोर्ट्स अवार्ड पहिलो पटक मोफसलमा आयोजना गरिएको हो, जसले कार्यक्रमलाई ऐतिहासिक बनाएको छ।

पेरिस पारा ओलम्पिकमा कास्य पदक जित्दै इतिहास रचेकी पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुन्। यही ऐतिहासिक उपलब्धिका कारण उनलाई नेपाली खेलकुदकी पथप्रदर्शक (Trailblazer) को सम्मान दिइएको हो। स्मरणीय छ, गत वर्ष पनि पलेसाले एनएसजेएफ पारा एथ्लेट अवार्ड प्राप्त गरेकी थिइन्।

क्रिकेटर दिपेन्द्रसिंह ऐरी र कराते खेलाडी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ का वर्ष खेलाडी (पुरुष/महिला) घोषित भए। दिपेन्द्रले एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने उनी तेस्रो खेलाडी हुन्।

वर्ष २०८१ मा उनले ३७० रन र २० विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। अमेरिकामा सम्पन्न टी–२० विश्वकपमा ६ विकेटसहित नेपालका लागि सर्वाधिक विकेट लिने बलर बने। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सर्वोत्कृष्ट खेलाडी बन्दै कारसमेत जित्न सफल भए।

उता, करातेकी एरिका गुरुङले लगातार दोस्रो पटक वर्ष महिला खेलाडीको उपाधि जित्दै आफ्नो दबदबा कायम राखिन्। भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण, अस्ट्रेलियन ओपन २०२४ र एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी एरिकाले चीन र दुबईमा आयोजित प्रतियोगितामा रजत पदकसमेत हात पारिन्।

भलिबल खेलाडी हिमाल सुनारी ले पिपल्स च्वाइस अवार्ड जिते। ई-सेवा भोटिङ, पत्रकार, प्रशिक्षक र सामाजिक सञ्जालको मतका आधारमा उनले ४०.१० प्रतिशत मत प्राप्त गर्दै विजेता बने।

पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षका उत्कृष्ट प्रशिक्षक घोषित भए। पेरिस पारा ओलम्पिकमा पलेसाको ऐतिहासिक पदक यात्रामा उनको प्रशिक्षण भूमिका निर्णायक रह्यो।

युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पूजा महतो ले जितिन्। उनले नेपाली यू-१९ महिला टोलीलाई पहिलो पटक विश्वकपमा छनोट गराउँदै कप्तानका रूपमा इतिहास रचिन्। एनएसजेएफ पारा एथ्लेट अवार्ड पारा एथलेटिक्सकी प्रभा आङदम्बे ले जितिन्। नयाँ दिल्लीमा सम्पन्न विश्व पारा एथलेटिक्समा उनले लङजम्पतर्फ ऐतिहासिक रजत पदक जितेकी थिइन्, जुन पारा एथलेटिक्समा नेपालकै अहिलेसम्मको ठूलो उपलब्धि हो।

सबैभन्दा प्रतिष्ठित लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्सका वरिष्ठ प्रशिक्षक तथा खेलाडी खड्गबहादुर रानाभाट लाई प्रदान गरियो। पोखरा म्याराथनलाई स्थापित गर्ने महत्वपूर्ण व्यक्तित्वका रूपमा उनी नेपाली खेलकुदका प्रेरणास्रोत हुन्।

भारतमा सम्पन्न पहिलो खोखो विश्वकपमा ऐतिहासिक रजत पदक जित्ने नेपाली पुरुष तथा महिला खोखो टोली लाई टिम अफ दि इयर अवार्ड प्रदान गरियो। तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तुलसीकुमार गुरुङ ले स्पेसल अवार्ड प्राप्त गरे। कुक्किवोनबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गर्ने उनी पहिलो नेपाली हुन्।

यसैगरी बंगलादेशका खेल पत्रकार राना हसन ले एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड प्राप्त गरे। वर्ष खेलाडी (पुरुष/महिला), पिपल्स च्वाइस, उत्कृष्ट प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिएको थियो भने अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ नगद प्रदान गरियो।

२२औँ संस्करणको प्रवर्धक पोखरा महानगरपालिका रहेको थियो। गोल्छा ग्रुप मुख्य प्रायोजक, यती एयरलाइन्स पावर्ड बाई पार्टनर, खल्ती भोटिङ पार्टनर र केल्मी नेपाल पोसाक पार्टनर रहेका थिए।

कमेन्ट गर्नुहोस्
Share: