पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सवको तयारी तीव्र

Share:

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका-१०/११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म आयोजना हुने घान्द्रुक पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको पूर्वतयारीस्वरूप पोखरामा आयोजित च्यारिटी डिनर कार्यक्रमबाट ९ लाख ६ हजार ६ सय रुपैयाँ आर्थिक संकलन भएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा पोखरामा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमबाट संकलित रकम महोत्सवको व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनमा प्रयोग गरिने रोधीं क्लब घान्द्रुकका उपाध्यक्ष अमृत गुरुङले जानकारी दिए ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार महोत्सव अवधिभर खेलकुद तथा मौलिक सांस्कृतिक कार्यक्रमहरू विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछ । “महोत्सवले घान्द्रुकको पर्यटन, संस्कृति र स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास लिएका छौँ,” उनले भने ।

रोधीं क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले च्यारिटी डिनर कार्यक्रम आर्थिक संकलनसँगै आपसी भेटघाट र छलफलको महत्वपूर्ण माध्यम बनेको बताए ।

“‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आयोजना हुन लागेको घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा आयोजित च्यारिटी डिनरले विभिन्न शहरमा बसोबास गर्दै आएका आफन्त, साथीभाइसँग भेटघाट गर्ने अवसर पनि दिएको छ,” उनले भने ।

महोत्सवका अवसरमा पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, घोडा दौड, रस्साकस्सी, छेलो खेलसहित विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने उपाध्यक्ष गुरुङले बताए ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा हाल ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा छन्, जसले एकैदिन २ हजार ५ सयभन्दा बढी पर्यटकलाई सेवा दिन सक्ने क्षमता राख्छन् । पोखराबाट करिब साढे दुई घण्टाको सवारी यात्रामा घान्द्रुक पुग्न सकिन्छ ।

घान्द्रुकबाट भैसीखर्क-टाडापानी-देउराली हुँदै घोडेपानी, टाडापानी-इसर-दोबाटो-मुल्डे हुँदै खोर्पा लेक र हिडन लेक, साथै अन्नपूर्ण बेस क्याम्पसम्म पुग्ने लोकप्रिय पदमार्गहरू रहेकाले घान्द्रुक पर्यटकहरूको रोजाइमा पर्दै आएको छ ।

आयोजकहरूले महोत्सवले स्थानीय अर्थतन्त्र सुदृढ बनाउँदै घान्द्रुकलाई चारै मौसमको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: