बागलुङका सहकारीकर्मी भन्छन्-“सहकारीको साख बिस्तारै फर्किँदैछ”

Share:

बागलुङ । बागलुङका सहकारीकर्मीहरूले सहकारीप्रति जनविश्वास पुनःस्थापित हुँदै गएको भन्दै यसको साख थप मजबुत बनाउन सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् । जिल्ला सहकारी संघ लिमिटेड बागलुङद्वारा बिहीबार आयोजित १७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा सहभागी वक्ताहरूले सहकारी विपन्न वर्गको आर्थिक विकास र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यम भएकाले समन्वय र पारदर्शितामार्फत यसको छवि अझै सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

सहकारी सदस्यहरूको सक्रिय सहभागिताबाट अघि बढ्ने व्यवसाय भएको उल्लेख गर्दै सहभागीहरूले पछिल्लो समय सदस्यहरू स्वयं सहकारीको साख बढाउन अग्रसर भएको दाबी गरे ।  “केही सहकारीमा समस्या आउँदा सबै सहकारी खराब हुन् भन्ने भ्रम फैलाइयो, तर सबै सहकारी खराब थिएनन् भन्ने कुरा सदस्यहरूले बिस्तारै बुझ्न थालेका छन्,” सहकारीकर्मीहरूले भने ।

उनीहरूले विगतका कमजोरी र त्रुटिहरूलाई सच्याउँदै आगामी दिनमा सदस्यकेन्द्रित अभियान सञ्चालन गर्न सबै सहकारीले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सल्लाहकारहरू रामबहादुर जिसी, चण्डीप्रसाद शर्मा, दिपक गौतम, तेजेन्द्र थापा मगर र तोयानाथ गौतम, साथै जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नरबहादुर थापालगायतले सहकारीको वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य राखेका थिए ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हेमाकुमारी जिसी (अञ्जु) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पिंगला खड्का जिसीले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव तेजप्रसाद शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

साधारणसभामा सचिव शर्माले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक मिनबहादुर केसी (मिलन) ले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको अध्यक्ष जिसीले जानकारी दिइन् ।

यसैबीच जिल्ला सहकारी संघ बागलुङको आगामी चार वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न साधारणसभामार्फत निर्वाचन प्रक्रिया अघि बढाइएको छ । निर्वाचनका लागि ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिमा गरी २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका संयोजक राम शर्माका अनुसार नेतृत्व सर्वसम्मत गराउने प्रयासस्वरूप सबै उम्मेदवारको सहमतिमा ५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । सहकारीकर्मीहरूले सहकारी क्षेत्रलाई विश्वासयोग्य, पारदर्शी र सदस्यमुखी बनाउँदै लैजानु नै अहिलेको प्रमुख आवश्यकता रहेको निष्कर्ष निकालेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: