
पोखरा । पोखरा महानगरपालिका-१७ स्थित सेती नदी किनारामा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिताघाट स्थानीयवासीको सक्रिय सहभागितामा व्यवस्थित गरिने भएको छ । जन्मदेखि मृत्युसम्मका संस्कारसँग गाँसिएको यस घाटको संरक्षण र पहुँच सुधारका लागि घाटसम्म मोटरबाटो निर्माण अभियान सुरु गरिएको हो ।
विभिन्न धार्मिक पर्वमा नदी स्नानका लागि जाने श्रद्धालु तथा अन्त्येष्टि संस्कारमा सहभागी हुन आउने स्थानीयले भोग्दै आएको असुविधालाई मध्यनजर गर्दै मोटरयोग्य बाटो निर्माण थालिएको सिताघाट बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार पोखरा महानगरपालिका-१७ को १० लाख रुपैयाँ आर्थिक सहयोगमा कच्ची मोटरबाटोको ट्र्याक खोल्ने कार्य सम्पन्न भइसकेको छ । अब बाँकी भौतिक संरचना निर्माणका लागि स्थानीयस्तरमै आर्थिक संकलन अभियान सुरु गरिएको छ ।
आर्थिक संकलन अभियानअन्तर्गत स्थानीय समाजसेवी सूर्यप्रसाद शर्मा भण्डारीले १ लाख ५ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले संकलित रकमको पारदर्शी र उद्देश्यअनुरूप उपयोग गर्न आग्रह गरे ।
यस्तै, स्थानीय सामाजिक व्यक्तित्व तथा सदा शिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले आफ्नै जन्मदिनको अवसरमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
उपभोक्ता समितिका सचिव विक्रम वाबु भण्डारीका अनुसार हालसम्म घरदैलो अभियानमार्फत करिब ५ लाख रुपैयाँ संकलन भइसकेको छ ।
सदा शिव हरिहर मन्दिर परिसर हुँदै जाने यस बाटोसँगै सुरक्षाका लागि एकतर्फी नाला र फलामे रेलिङ निर्माण आवश्यक रहेको उपभोक्ता समितिका कोषाध्यक्ष लेखनाथ चालिसेले बताए । आवश्यक रकम जुटाउन घरदैलो अभियानलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।
घाट संरक्षणका लागि मोटरबाटोको दुवै किनारामा ग्याबिन जाली भर्ने कार्य समेत भइरहेको उल्लेख गर्दै उनले भने, “धार्मिक क्षेत्रको विकासमा स्थानीयले देखाएको उत्साहले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उक्ति सार्थक भएको छ।”
सडक निर्माण सम्पन्न भएपछि पोखरा-१७ मात्र नभई वडा नं. २१ का बासिन्दालाई समेत धार्मिक कार्य र अन्त्येष्टि संस्कारमा सहजता हुने विश्वास लिइएको छ । साथै प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा लाग्ने ढुङ्गेसाँघु मेला व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बाटो निर्माणसँगै संकटमा परेको प्राचीन ढुङ्गेसाँघु मेलालाई सेती नदी किनारमा रहेको करिब ४० रोपनी सार्वजनिक जग्गामा व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने सम्भावना देखिएको उपभोक्ता समितिको भनाइ छ ।
स्थानीय सहभागिता र सहकार्यबाट सिताघाटको संरक्षण तथा विकासले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ ।
