पोखराको गोगन माविको ५८ औँ वार्षिकोत्सव सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले सीमित सरकारी सहयोग र अभिभावकको साथ-सहयोगबीच विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको उल्लेख गरे। उनले आगामी दिनमा गोगन माध्यमिक विद्यालय अझ उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

सरकारले विद्यालय शिक्षा निःशुल्क तथा अनिवार्य घोषणा गरे पनि व्यवहारिक रूपमा पूर्ण कार्यान्वयन हुन नसकेको बताउँदै महानगर प्रमुख आचार्यले गोगन माध्यमिक विद्यालयका लागि महानगरपालिकाबाट तीन स्थायी दरबन्दी (प्राथमिक तहमा दुई र माध्यमिक तहमा एक) तथा एक जना स्टाफ नर्सको व्यवस्था गरिएको जानकारी दिए। साथै विद्यालय व्यवस्थापनका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको पनि उनले बताए।

विद्यार्थी जीवनमा अनुशासनको विशेष महत्व रहने उल्लेख गर्दै प्रमुख आचार्यले पढाइसँगै विद्यार्थीको रुचि र क्षमताअनुसार शिक्षण-सिकाइ प्रक्रिया अघि बढाउन शिक्षकहरूलाई आग्रह गरे।

यसै क्रममा उनले पोखरामा अघि बढिरहेका ठूला पूर्वाधार परियोजनाबारे पनि जानकारी दिए। सातमुहानेदेखि फेदीसम्मको सडक निर्माण तथा पोखरा-३२ लामेआहालमा प्रस्तावित क्षेत्रीय बसपार्क एसियाली विकास बैंक (एडीबी) को सहयोगमा आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने पक्का भइसकेको उनको भनाइ थियो। ती परियोजनाहरू सम्पन्न भएपछि महानगरवासीले प्रत्यक्ष अनुभूति गर्ने गरी परिवर्तन देखिने उनले विश्वास व्यक्त गरे।

कार्यक्रम पोखरा महानगरपालिका वडा नं. ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन शिक्षकद्वय गीता थापा र विनोद भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य सहायक प्रधानाध्यापक चन्द्रा थापाले राखेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद वरालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन, भावी कार्ययोजना तथा आय-व्यय विवरण प्रस्तुत गरे। साथै त्रिभुवन शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मी, गोगन मावि भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष किसान परियार, विद्यार्थी रिदीमा सापकोटा र दिप्ती थापालगायतले आ-आफ्ना धारणा राखेका थिए।

उक्त अवसरमा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलसहित निवर्तमान सदस्यहरू, निवर्तमान प्रधानाध्यापक मोहनराज बराल, विसं २०२६ देखि २०५० सालसम्म कार्यरत भूतपूर्व प्रधानाध्यापकहरू, पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा सदस्य, शिक्षक र कर्मचारीहरूलाई महानगर प्रमुख आचार्यले सम्मान गरेका थिए।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कमेन्ट गर्नुहोस्
Share: