
पोखरा । पोखरा महानगरपालिका वडा नं.१७ स्थित महतगौडामा रहेको जानकी माध्यमिक विद्यालयलाई लक्ष्मी सनराइज बैंकको अमरसिंहचोक शाखाले एक थान विद्युतिय वाटर प्युरिफायर (वाटर गार्ड) सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई स्वच्छ र सुरक्षित खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले करिब २२ हजार रुपैयाँ मूल्य बराबरको वाटर प्युरिफायर प्रदान गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच लक्ष्मी सनराइज बैंक अमरसिंहचोक शाखाका शाखा प्रमुख दीपक कडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद वास्तोलालाई उक्त वाटर प्युरिफायर हस्तान्तरण गरे।
सो अवसरमा शाखा प्रमुख कडेलले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण समेत प्रदान गरे । उनले आम्दानी अनुसार खर्च व्यवस्थापन गर्न सके भविष्य सुरक्षित बनाउन सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा बैंकका कर्मचारीहरू माधवप्रसाद दवाडी, बलराम पौडेल र सुस्मिता ढकालको सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रधानाध्यापक अर्जुन कडेलले गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षिका चन्द्रा तिमिल्सिनाले गरेका थिए ।
हाल जानकी माध्यमिक विद्यालयमा करिब ३५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । बैंकको यस सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार भई विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
