
पोखरा। गण्डकी प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको तेस्रोपटक सेवा प्रवेश तालिम शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पुस २१ गतेदेखि सञ्चालन भएको तालिमको समापन समारोह राष्ट्रिय परीक्षा बोर्डको सभाहलमा सम्पन्न भएको हो । समापन समारोह प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षता तथा गण्डकी प्रदेश लोकसेवा आयोगकी सदस्य कल्पना लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
समारोहमा बोल्दै प्रमुख अतिथि लम्सालले प्रदेश लोकसेवा आयोगले सैद्धान्तिक र केही व्यवहारिक ज्ञानको परीक्षणमार्फत हजारौँ प्रतिस्पर्धीमध्येबाट कर्मचारी छनोट गर्ने गरेको उल्लेख गरिन्। उनले एन्टिएजस्ता तालिम प्रदायक प्रतिष्ठानले कर्मचारीहरूको सीप, व्यवहारिक ज्ञान र क्षमता विकास गरी जनतासँग प्रत्यक्ष जोडिने सेवा प्रवाहलाई सहज, कुशल र पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
प्रतिष्ठानका उपसचिव नारायणप्रसाद पौडेलले स्वागत मन्तव्यसहित तालिमको समग्र समीक्षा प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इञ्जिनियर मनोज पौडेलले गरेका थिए। तालिम व्यावहारिक र अभ्यासमूलक रहेको भन्दै सहभागीको तर्फबाट सुमन पौडेल र रविना कुलुङले आफ्ना अनुभव साझा गरिन्। उनीहरूले दैनिक कार्यसम्पादनका क्रममा आइपर्ने समस्या समाधानमा यस्ता तालिम अत्यन्त उपयोगी हुने बताएका थिए।
पाँच दिनसम्म सञ्चालन भएको सेवा प्रवेश तालिममा प्रशासन र प्राविधिकतर्फका सहायकस्तर चौथो र पाँचौँ तहका ४७ जना कर्मचारी सहभागी भएका थिए। तालिम सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाको हल तथा राष्ट्रिय परीक्षा बोर्डको सभाहलमा सञ्चालन गरिएको थियो।
तालिममा स्थानीय तहका कर्मचारीहरूको दैनिक कार्यलाई सहज बनाउने उद्देश्यले स्थानीय तहको काम, कर्तव्य र अधिकार, खरिद प्रक्रिया, बजेट निर्माण तथा व्यवस्थापन, विकास योजना, भवन निर्माण मापदण्ड, योजना कार्यान्वयन, अनुगमन तथा मूल्यांकन, जिन्सी व्यवस्थापन, स्थानीय तहको राजस्व अधिकार र परिचालन, उपभोक्ता समितिको भूमिका, सामाजिक सुरक्षा तथा पञ्जीकरण, अभिलेख व्यवस्थापन, समस्या केन्द्रित अभ्यास र प्रस्तुतीकरणलगायत विषयमा सहजीकरण गरिएको थियो।
तालिमका संयोजक तथा प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इञ्जिनियर मनोज पौडेलले प्रशासन र प्राविधिक दुवै तर्फका नवप्रवेशी कर्मचारीलाई प्रशासनिक ज्ञानसँगै प्राविधिक दक्षता पनि आवश्यक हुने भएकाले अभ्यासमूलक प्रशिक्षणमा विशेष जोड दिइएको जानकारी दिए। यसैबीच, प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाका अनुसार चालु आर्थिक वर्षमा प्रतिष्ठानको आयोजनामा मंसिर १४ देखि १९ गतेसम्म प्रशासनतर्फ दुई समूह, मंसिर २१ देखि २५ गतेसम्म इञ्जिनियरिङतर्फ एक समूह तथा पुस २१ देखि २५ गतेसम्म प्रशासन र कृषि तर्फका दुई समूह गरी १५० भन्दा बढी सहायकस्तर चौथो र पाँचौँ तहका कर्मचारीहरू सेवा प्रवेश तालिम लिएर दीक्षित भइसकेका छन्।
