
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । फागुन २१ गते हुने मतदान आउन अब ५४ दिन बाँकी छँदा आयोगले चुनावलाई स्वच्छ र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयन गर्न लागेको हो ।
आयोगले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनको हालसम्मको तयारीबारे जानकारी गराएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रधानमन्त्रीलाई भेटेर तयारीबारे ‘ब्रिफिङ’ गरेका हुन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भण्डारीले निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । आचारसंहितामा सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने र नपाउने गतिविधि, राजनीतिक दल तथा सरोकारवालाको भूमिकाबारे स्पष्ट व्यवस्था गरिएको छ ।
आयोगले आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार र सरोकारवाला निकायको मुख्य भूमिका रहने जनाएको छ ।
