
पोखरा । गण्डकी विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको उपकुलपति पदका लागि ६ जना उम्मेदवारको नामावली स्वीकृत भएको छ । उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले सूचना प्रकाशित गर्दै दरखास्त दिएका सबै उम्मेदवारको योग्यता पुगेको ठहर गर्दै नामावली सार्वजनिक गरेको हो । समितिका अनुसार ‘गण्डकी विश्वविद्यालय उपकुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८२’ को दफा ७ को उपदफा १० बमोजिम मूल्यांकन तथा छनोट प्रक्रियाका लागि ६ जनाकै नाम स्वीकृत गरिएको हो ।
उम्मेदवारहरूलाई माघ ४ गते कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ । यद्यपि माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएकाले प्रक्रिया स्थगित हुन सक्ने सम्भावना रहेको छ । स्वीकृत उम्मेदवारहरूमा कृष्णराज अधिकारी (गैह्रापाटन–४, पोखरा), तुलसीराम भण्डारी (धुर्कोट–७, गुल्मी), वीरबहादुर खनाल क्षेत्री (रूपा–७, कास्की), सरोज कोइराला (पोखरा–५, कास्की), कपिल अधिकारी (पोखरा–४, कास्की) र चन्द्रबहादुर थापा (पुतलीबजार–४, स्याङ्जा) रहेका छन् ।
सिफारिस समितिको सचिवालयले पुस १ गते सूचना प्रकाशित गरी उपकुलपति पदका लागि आवेदन आह्वान गरेको थियो । आवेदनका क्रममा ३ हजार रुपैयाँ दस्तुर तोकिएको थियो । उम्मेदवारहरूले एनएमबि बैंकको अमरसिंहचोक शाखामा रहेको विश्वविद्यालयको खातामा शुल्क जम्मा गरी भौचर पेस गरेका थिए ।
आवेदनका साथ उम्मेदवारहरूले व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभवसम्बन्धी कागजात तथा विश्वविद्यालय विकासका लागि तयार पारेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) समेत बुझाएका छन् । अब सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामार्फत मूल्यांकन गरी उत्कृष्ट तीन जनाको नाम कुलपति अर्थात् मुख्यमन्त्रीसमक्ष सिफारिस गर्ने कानुनी व्यवस्था रहेको छ । तीमध्येबाट एक जनालाई उपकुलपति नियुक्त गरिनेछ ।
यसअघि उपकुलपति नियुक्ति प्रक्रिया सुरु हुनुअघि गण्डकी प्रदेश सरकारले विश्वविद्यालय ऐन संशोधन गर्दै उपकुलपतिका लागि आवश्यक शैक्षिक योग्यता र अनुभवसम्बन्धी मापदण्डमा फेरबदल गरेको थियो । सो संशोधन निश्चित व्यक्तिलाई लक्षित गरी गरिएको आरोपसहित संसद् र सार्वजनिक क्षेत्रमा तीव्र आलोचना भएको थियो । सोही संशोधित ऐन र कार्यविधिका आधारमा हालको नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।
लामो समयदेखि उपकुलपति विहीन रहेको गण्डकी विश्वविद्यालयमा नयाँ नेतृत्व चयन भएसँगै शैक्षिक तथा प्रशासनिक गतिविधिले गति लिने अपेक्षा गरिएको छ । विश्वविद्यालयले छनोट प्रक्रिया र कार्यविधिसम्बन्धी थप जानकारी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ ।
