साराङकोट सिमतालमा केबलकार आपत्कालीन उद्धार अभ्यास, सशस्त्र प्रहरीको क्षमताको प्रभावशाली प्रदर्शन

Share:

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका-१८ स्थित साराङकोटको सिमतालमा शुक्रबार केबुलकार आपत्कालीन उद्धार अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ । यात्रुहरूको जीवन सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले आयोजित उक्त अभ्यास सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र अन्नपूर्ण केबलकार प्रालि लिमिटेडको सहकार्यमा सम्पन्न गरिएको हो ।

केबुलकार सञ्चालनका क्रममा उत्पन्न हुन सक्ने सम्भावित आपत्कालीन अवस्थाहरूमा यात्रुहरूलाई कसरी सुरक्षित, छिटो र प्रभावकारी रूपमा उद्धार गर्न सकिन्छ भन्ने अभ्यासको मुख्य उद्देश्य रहेको थियो । अभ्यासका क्रममा सशस्त्र प्रहरी बलले अत्याधुनिक उपकरण तथा दक्ष जनशक्तिको प्रयोग गर्दै केबुलकारमा अलपत्र परेका यात्रुहरूको उद्धार प्रक्रिया प्रस्तुत गरेको थियो, जसले उपस्थित सबैको ध्यान आकर्षित गर्‍यो ।

उक्त अभ्यास पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, कास्की जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधि, स्थानीय भद्रभलाद्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सशस्त्र प्रहरी बल नेपालले खोज तथा उद्धारको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । उनले यस्ता अभ्यासले विपद् तथा आपत्कालीन अवस्थामा नागरिकको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पर्यटकीय शहर पोखरामा सञ्चालनमा रहेका पूर्वाधारहरूको सुरक्षालाई अझ बलियो बनाउने उद्देश्यले गरिएको यो अभ्यासले सार्वजनिक सुरक्षा, तयारी अवस्था र अन्तरसंस्थागत सहकार्यको सशक्त सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया थियो ।

कमेन्ट गर्नुहोस्
Share: