
काठमाडौं । एकता सम्झौता गरेको दुई साता नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कुलमान घिसिङ बाहिरिने निश्चितजस्तै देखिएको छ । तत्काल नयाँ समझदारी नबने कुलमानले अघि बढाएको ‘उज्यालो नेपाल पार्टी’ रास्वपासँग नअडिने निष्कर्षमा उनी निकट नेताहरू पुगेका छन् । बुधबार मन्त्री पदबाट राजीनामा दिने क्रममा रास्वपासँगको एकता टरेको संकेत दिएका कुलमानलाई एकपटक पार्टी सभापति रवि लामिछानेसँग छलफल गर्न निकटस्थहरूले आग्रह गरेपछि निर्णय रोकिएको थियो । त्यसअनुसार शुक्रबार दुवैबीच भेटवार्ता भए पनि सहमतिको साझा आधार भेटिन सकेन ।
छलफलपछि कुलमानले निकटस्थ नेताहरूलाई रास्वपासँग मिलेर अघि बढ्न नसकिने निष्कर्ष सुनाएको स्रोतले जनाएको छ । “अब निकै ठूलो सम्झौता भयो भने मात्रै कुरा बदलिन सक्छ, नत्र उज्यालो नेपाल पार्टी नै अगाडि बढ्छ,” छलफलमा सहभागी एक नेताले बताए । निर्वाचन आयोगमा दर्ता हुँदा अनुपकुमार उपाध्यायलाई अध्यक्ष बनाइएको उज्यालो नेपाल पार्टीका संरक्षक रहेका कुलमानले शुक्रबार बौद्धमा भएको भेलामा रास्वपासँग भएका छलफलका विषयवस्तु पार्टी नेताहरूलाई जानकारी गराएका थिए ।
उनले रविसँगको छलफलमा वरीयताको विषय आफूलाई स्वीकार्य नभएको, सहमतिअनुसार दोस्रो वरीयता पाउनुपर्ने, केन्द्रीय समितिमा कम्तीमा २६ जना र समानुपातिकतर्फ कम्तीमा ६ जना सांसद सुनिश्चित हुने गरी उम्मेदवार सूचीमा राखिनुपर्ने माग राखेको बताएका छन् ।
तर, रास्वपा सभापति लामिछानेले केन्द्रीय समितिमा २१ जना दिन सकिने तर समानुपातिक सांसद सुनिश्चित गर्न नसकिने जवाफ दिएको उज्यालो नेपाल पार्टीका नेताहरूको भनाइ छ । “चित्त बुझ्दो जवाफ आएन, अब मिलेर जान गाह्रो छ,” उज्यालो नेपाल पार्टीका एक नेताले भने, “अब आफ्नै बाटोमा अघि बढ्नुको विकल्प छैन ।”
उज्यालो नेपाल पार्टीका नेताहरूसँगको भेलापछि कुलमान आफ्नै नेतृत्वमा पार्टी अगाडि बढाउने निचोडमा पुगेका छन् । “हामीसँग भएको सहमति कार्यान्वयनमा रास्वपाले आत्मबोध गरेको देखिएन,” भेलामा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
रास्वपासँग सहकार्य सम्भव नभएपछि कुलमानले ‘प्लान बी’ अघि सारेका छन् । प्रत्यक्ष चुनाव उज्यालो नेपाल पार्टीबाट लड्ने, रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा रहेका नाम फिर्ता गराउने र समानुपातिकतर्फ अर्कै चुनाव चिह्न भएको दलसँग सहकार्य गर्ने योजना उनले प्रस्तुत गरेका छन् । समानुपातिक सूची बुझाइसकेका पाँच/छ वटा पार्टी कुलमानसँग सम्पर्कमा रहेको उज्यालो नेपाल पार्टीका नेताहरूको दाबी छ । यद्यपि, केही नेताहरूले अझै पनि रास्वपासँगको एकता नटुटोस् भन्ने प्रयास जारी राखेका छन् ।
तर सहमतिमा हस्ताक्षर भइसकेपछि पनि रास्वपाका नेताहरूबाट असम्मानजनक भाषा प्रयोग भएको, १२ जनालाई मात्र केन्द्रीय सदस्य बनाउने प्रस्ताव आएको भन्दै कुलमानले त्यसलाई अस्वीकार गरेको स्रोतको भनाइ छ । उज्यालो नेपाल पार्टीभित्र भने अहिले देखिएको विवादमा सबै पक्ष जिम्मेवार रहेको निष्कर्ष पनि निकालिएको छ । “रवि, बालेन र कुलमानजस्ता व्यक्तित्व भए पुग्छ, पार्टी संरचना गौण हुन्छ भन्ने सोच हाबी देखियो,” उज्यालो नेपाल पार्टीका एक नेताले भने, “व्यक्ति केन्द्रित राजनीति दीगो हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ ।”
रास्वपासँगको सहकार्य अन्योलमा परेपछि उज्यालो नेपाल पार्टी अब वैकल्पिक राजनीतिक यात्रामा केन्द्रित हुने संकेत देखिएको छ
