
पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२औँ वार्षिक खेलकुद कार्यक्रम भव्य समारोहबीच शनिबार सम्पन्न भएको छ। बिहीबारदेखि विद्यालय परिसरमा सञ्चालन भएको खेलकुद कार्यक्रमको समापन गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले गरे।
समापन समारोहमा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै सचिव डा. पौडेलले खेलकुद नियम र अनुशासनको अर्को नाम भएको उल्लेख गर्दै नियमको पालना गर्ने व्यक्ति मात्र सच्चा खेलाडी बन्न सक्ने बताए। उनले भने, “जित-हार प्राविधिक विषय हो, तर म खेल खेल्छु भन्ने दृढ संकल्प नै खेलाडीको वास्तविक जित हो।”
विकसित मुलुकमा राज्यले नै बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने संस्कार रहेको उल्लेख गर्दै उनले नेपालमा पनि त्यस्तो सोच विकास हुनुपर्नेमा जोड दिए। सामाजिक विकास मन्त्रालय शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको जिम्मेवारीमा रहेकाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको एसओएसजस्ता मानवतावादी संस्थासँग सहकार्यलाई प्रदेश सरकारले विशेष चासोका साथ लिएको पनि बताए। उनले खेलकुद कार्यक्रममा विद्यार्थीहरूले देखाएको प्रतिभाको खुलेर प्रशंसा गर्दै उत्कृष्ट खेलाडीहरूलाई बधाई दिए।
कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले खेलकुद सामाजिक रूपान्तरण, राष्ट्रिय गरिमा र आपसी भाइचाराको सम्बन्ध विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले यही मान्यतालाई आत्मसात् गर्दै आगामी माघ ५ देखि १० गतेसम्म वडाले खेलकुद महोत्सव आयोजना गर्न लागेको जानकारी दिए।
एसओएस स्कूल गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मन्तव्य राख्दै सह-प्रधानाध्यापक प्रभास पौडेलले खेलकुदको जीवनमूल्य र यसको बहुआयामिक महत्त्वबारे प्रकाश पारे। उनले यस वर्षको खेलकुद सप्ताहअन्तर्गत ६५ खेल समावेश गरिएको र पहिलो दुई दिनमा ४९ खेल सफलतापूर्वक सम्पन्न भइसकेको तथा समापन दिन १६ खेल आयोजना गरिएको जानकारी दिए।
सभाध्यक्षको आसनबाट बोल्दै प्रधानाध्यापक सुवेदीले सिकाइ कक्षाकोठामा मात्र सीमित नभई जीवनका हरेक क्षेत्रमा हुने उल्लेख गर्दै खेलकुदमार्फत विद्यार्थीहरूले देखाएको प्रतिभाको प्रशंसा गरे। साथै, खेलकुद कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद ज्ञापन गरे।
समापन समारोहमा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस बालग्राम पोखराका परियोजना निर्देशक लोब्स्याङ ग्याल्ट्सेन, एसओएस पोखराका प्रधानाध्यापक फुर्बा थिन्ले, एसओएस विद्यालय गण्डकीका प्रमुख रामचन्द्र पोखरेल, पूर्वप्रधानाध्यापक मोहनमुरारी खनाल, विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्रराज बराल, एसओएस व्यावसायिक तालिम केन्द्र छोरेपाटनका प्रमुख शिव लामिछाने, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, समाजसेवी बाबुराम बराल, तोयनाथ भट्टराईलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत माध्यमिक तहका विद्यार्थीहरूबीच विभिन्न दौड, रिले, हाईजम्प, लङजम्प, स्याक रेस, सर्ट पुट, स्लो साइकलिङ, टग अफ वारजस्ता खेलहरू सम्पन्न भए। त्यस्तै शिशु कक्षाका विद्यार्थीहरूका लागि रिले रेस, बल पिक रेस, स्वीट रेस, म्युजिकल चेयर, बेलुन ब्रस्ट, ओरेन्ज रेस, पेपर रिलेजस्ता खेल आयोजना गरिएका थिए।
खेलकुद समारोहमा विद्यालयका चारै सदनका विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा सुसज्जित मार्चपास्ट प्रस्तुत गरे। २५६ विद्यार्थी सहभागी सामूहिक नृत्यमा ‘स्वागत’, ‘एसओएस’ लेख्दै अन्त्यमा नेपालको राष्ट्रिय झण्डाको आकृति निर्माण गरिएको थियो। साथै तामाङ संस्कृतिको सेलो, मगर संस्कृतिको कौरा, नेवारी संस्कृतिको लाखे नृत्यसहित विविध लोकनृत्यहरू प्रस्तुत गरिएको थियो।
खेल अवधिभर सम्भावित दुर्घटनाबाट खेलाडीहरूको सुरक्षाका लागि विद्यालयमा क्रियाशील जुनियर रेडक्रस र गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरू सम्मिलित चिकित्सक टोलीद्वारा खेलस्थलमै आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको थियो। अभिभावकहरूका लागि ‘तातो आलु’ प्रतियोगितासमेत आयोजना गरिएको थियो।
प्रतियोगितात्मक खेलमा विद्यालयको माछापुच्छ्रे सदन यस शैक्षिक सत्रको विजेता बन्न सफल भयो भने धौलागिरि सदन उपविजेता बन्यो। उत्कृष्ट मार्चपास्ट प्रस्तुत गर्ने सदन अन्नपूर्ण र गौरीशंकर सर्वाधिक अनुशासित सदन घोषित भए। कक्षा ११ र १२ तर्फ गौरीशंकर सदन विजेता तथा अन्नपूर्ण सदन उपविजेता बने।
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि सचिव डा. शेषनारायण पौडेल, वडा अध्यक्ष तोरणबहादुर बानियाँ र प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, नगद पुरस्कार तथा पदक प्रदान गरे।

