पोखरामा ‘मनोहर कप-३’ खुला पुरुष भलिबल प्रतियोगिता पुस ३० देखि, विजेतालाई पौने २ लाख रुपैयाँसहित ट्रफी

Share:

पोखरा । पोखरा-१४ स्थित मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मनोहर युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्नेछ। क्लबका अध्यक्ष शैलेस बानियाँका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

प्रतियोगितामा उपाधि जित्ने टोलीले १ लाख ७५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीलाई १ लाख १ हजार १११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै सेमिफाइनल चरणमा पुग्ने दुई टोलीलाई समान २०/२० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीले बढीमा तीन जना राष्ट्रिय स्तरका खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको अध्यक्ष बानियाँले जानकारी दिए। नेपाल भलिबल संघको समन्वयमा आयोजना हुन लागेको प्रतियोगिताका सबै खेलहरू दर्शकका लागि निःशुल्क गरिएको छ। भलिबल खेलको प्रवर्द्धन गर्दै स्थानीय युवाहरूलाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताले समुदायमा खेलकुदप्रति उत्साह, एकता र सकारात्मक ऊर्जा बढाउने अपेक्षा गरिएको छ। प्रतियोगिताबाट बचेको रकम मनोहर व्यायामशाला निर्माण तथा आगामी दिनमा खेलकुद क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न उपयोग गरिने योजना पनि क्लबले सार्वजनिक गरेको छ। प्रतियोगिता सञ्चालनका लागि मूल समारोह समितिसहित विभिन्न उपसमितिहरू गठन भइसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: