
पोखरा । नेसनल प्याब्सन कास्कीले २७ औँ स्थापना दिवसको अवसरमा वरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई ‘शिक्षा/साहित्य सेवा सम्मान-२०८२’ प्रदान गर्ने भएको छ।
आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेसनल प्याब्सन कास्कीले स्थापना दिवसका अवसरमा विविध सम्मान तथा कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो। हरिदेवी कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ र नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रूपमा सम्मान गर्ने कार्यक्रम रहेको छ।
स्थापना दिवसकै अवसरमा स्थापना वर्षका आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी. तथा एस.ई.ई. परीक्षा-२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी तथा विद्यालय सम्मान, साथै दीर्घ सेवा पदक सम्मान-२०८२ प्रदान गरिने अध्यक्ष अधिकारीले जानकारी दिए।
यसैबीच, स्थापना दिवसको पूर्वसन्ध्यामा एन प्याब्सन कास्कीले वातावरण संरक्षणका लागि महाअभियान कास्कीको समन्वय, पोखरा महानगरपालिका र खहरे आमा समूहको सहकार्यमा हल्लनचोकस्थित फेवाताल किनारमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो।
सरसफाइ कार्यक्रमका लागि आवश्यक डोको, प्लास्टिक तथा पञ्जालगायतका सामग्री एन प्याब्सन कास्कीले खहरे आमा समूहलाई हस्तान्तरण गरेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष हेमन्त अधिकारीले फेवाताल सरसफाइ अभियान सांकेतिक भए पनि यसको महत्व गहिरो रहेको बताए।
“आज संस्थाले गरेको यो कार्यक्रम सांकेतिक हो,” उनले भने, “पोखराको प्राकृतिक सुन्दरता जोगाइराख्न आवश्यक परेमा संस्थामा आबद्ध विद्यालयका विद्यार्थी र शिक्षकहरूको सक्रिय सहभागितासहित हामी सधैं तयार छौं।”
वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले फेवातालको सौन्दर्य र अस्तित्व जोगाउन सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा खहरे आमा समूहकी पूर्व अध्यक्ष मैया थापाले पनि आफ्ना धारणा राखेकी थिइन्।
यसअघि शुक्रबार, एन प्याब्सन कास्कीले संस्थाका पूर्व अध्यक्ष स्व. रामप्रसाद शर्माको पाँचौँ दिनको पुण्यतिथिका अवसरमा शर्माको निवासमा पुगेर शोकसभा आयोजना गरेको थियो।


