पोखरामा सूचना-प्रविधि र स्टार्टअप मेला हुँदै, गण्डकीका १५ नवप्रवर्तनशील उद्यमको प्रतिस्पर्धात्मक प्रदर्शनी हुने

Share:

पोखरा। आउँदो माघ महिनाको अन्तिम साता पोखरामा युवाले विकास गरेका सूचना-प्रविधि तथा स्टार्टअप व्यवसायको प्रतिस्पर्धात्मक प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा उक्त मेला आयोजना गर्न लागेको हो।

मेलामा गण्डकी प्रदेशभित्रबाट छनोट गरिएका १५ वटा नवप्रवर्तनमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियासँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिनेछ। प्रदर्शनी प्रतिस्पर्धात्मक हुनेछ, जसमा प्रथम हुनेले ४० हजार, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमका अनुसार मेलामा सहभागिताका लागि आउँदो साता सार्वजनिक सूचना जारी गरिनेछ।

‘सहभागी हुन इच्छुकले अनलाइन फाराम भर्नुपर्नेछ,’ उनले भने, ‘आवेदकको उमेर ४० वर्ष ननाघेको, उद्योग वा व्यवसाय सञ्चालन गरेको अवधि १० वर्षभन्दा बढी नभएको, सरकारी निकायमा दर्ता भएको तथा वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा बढी नभएको हुनुपर्नेछ।’

उनका अनुसार पोखराबाट सुरु हुने यो प्रदर्शनी क्रमशः सातै प्रदेशमा सञ्चालन गरिनेछ। प्रदेशस्तरमा उत्कृष्ट ठहरिएका उद्यमहरूलाई अन्त्यमा काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको बृहत प्रतिस्पर्धात्मक प्रदर्शनीमा सहभागी गराइनेछ।

मेलाको तयारीस्वरूप राष्ट्रिय युवा परिषद्ले पोखरामा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ। कास्की, स्याङ्जा, बागलुङ, तनहुँ र पर्वतका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको कार्यक्रममा उद्यमशीलता विकास विज्ञ इन्जिनियर रमेश सुवेदीले नवप्रवर्तनमार्फत रोजगारी सिर्जना र युवा पलायन रोक्न यस्ता मेला प्रभावकारी हुने बताए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले युवा पुस्ताको पलायन रोक्ने र देशमै रोजगारी सिर्जना गर्ने निजी क्षेत्रको चाहना रहेको उल्लेख गरे। उनले पछिल्लो समय निजी क्षेत्र हतोत्साहित भएको सन्दर्भ उल्लेख गर्दै यस्ता प्रदर्शनीहरूले युवालाई उद्यमशीलतातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशीलता विकासका लागि महानगरपालिकाले अघि सारेका कार्यक्रमबारे जानकारी दिँदै युवा परिषद्को यो पहलले नयाँ सोच र सिर्जनशीलता विकास गर्न सहयोग पुग्ने बताए।

राष्ट्रिय युवा परिषद्का उपसचिव तारापति खरेलले निजी क्षेत्रसँग सहकार्य गर्दै विशेषगरी युवालाई सिर्जनात्मक र नवप्रवर्तनशील व्यवसायमा जोड्न मेलाको आयोजना गरिएको स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्
Share: