स्याङ्जामा विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधि, ५२ मध्ये ३२ खुल्ला, समर्थन बढ्दो

Share:

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जामा विशेष महाधिवेशनको मागले तीव्रता पाएको छ। दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा कुल ५२ जना महाधिवेशन प्रतिनिधिमध्ये हालसम्म ३२ जना विशेष महाधिवेशनको पक्षमा खुल्ला रूपमा उभिएका छन्।

विशेष महाधिवेशन माग गर्दै सुरुमा २९ जनाले हस्ताक्षर गरेकोमा पछिल्लो समय थप तीन जना प्रतिनिधि सहभागी भएका नेपाली कांग्रेस स्याङ्जाका सचिव तथा महासमिति सदस्य गुरुप्रसाद भट्टराईले जानकारी दिए।
“थपिने क्रम जारी छ,” भट्टराईले भने, “महाधिवेशन सुरु हुँदासम्म यो संख्या पाँचदेखि सात जनासम्म अझै बढ्नेछ।”

स्याङ्जामा विशेष महाधिवेशनको तयारी र संयोजनको जिम्मेवारी सचिव भट्टराईले सम्हाल्दै आएका छन्। यसअघि निर्वाचन क्षेत्र नं. १ बाट १८ जना र क्षेत्र नं. २ बाट ११ जनाले विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका थिए।

विशेष महाधिवेशनको पक्षमा उभिनेहरूमा पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ निकट नेताहरू समेत रहेको बताइएको छ। यसले कांग्रेसभित्रको आन्तरिक समीकरणमा तरंग ल्याएको छ।

तर जिल्ला सभापति तथा निवर्तमान संघीय सांसद राजु थापा र पूर्व प्रदेश सांसदसमेत रहेका युवा नेता भागवत प्रकाश मल्ल भने यो विषयमा अहिलेसम्म मौन छन्।

यता युवा नेता विष्णु पौडेल भने विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएका छन्। पार्टीको नेतृत्व युवापुस्तामा हस्तान्तरण हुनुपर्ने धारणा राख्दै उनले आफू जेन–जी पुस्ताको भावना अनुसार सक्रिय रहेको बताए।

स्याङ्जाबाट सुरु भएको यो समर्थनले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहसलाई अझ सशक्त बनाउने संकेत देखिएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: