
पोखरा । १४औँ संस्करणको पोखरा महोत्सवलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विशेष सुरक्षा व्यवस्था अपनाइने भएको छ।महोत्सवमा आउने दर्शक तथा महोत्सव स्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सादा पोशाकका प्रहरी, निजी सेक्युरिटी गार्ड, स्वयंसेवक र सीसीटीभी क्यामेराको संयुक्त निगरानी रहने भएको हो।
कास्कीका सुरक्षा निकायका प्रतिनिधि र महोत्सव आयोजकबीच भएको समन्वय बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकमा बोल्दै कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगतका वर्षको तुलनामा यस वर्ष सुरक्षामा थप सतर्कता आवश्यक रहेको बताइन्। “अघिल्ला संस्करणमा कुनै अप्रिय घटना नभए पनि अहिलेको परिस्थिति फरक छ,” उनले भनिन्, “यसकारण सबै सुरक्षा निकायले उच्च सजगताका साथ काम गर्नुपर्छ।”
महोत्सवबाट आर्जित आम्दानी सामाजिक कार्यमा प्रयोग गर्दै युनाइटेड क्लबले आफ्नै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै शर्माले १४औँ पोखरा महोत्सवको सफलताको कामना गरिन्।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले महोत्सव अवधिभर कानुनले निषेध गरेका कुनै पनि गतिविधि सञ्चालन गर्न नदिइने स्पष्ट पारे। यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जेनजी आन्दोलनपछि कतिपय स्थानमा कानुन हातमा लिने प्रवृत्ति देखिएकाले महोत्सव स्थलमा त्यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिए। पोखरा महोत्सव अन्य महोत्सवभन्दा फरक र विशेष हुने भएकाले सोहीअनुसार सुरक्षा योजना तयार गरिएको उनको भनाइ थियो।
सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले आवश्यक सुरक्षाका लागि आफ्नो मातहतबाट पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए। युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले विगतका सबै महोत्सवमा सुरक्षा निकायको सहयोगका कारण कुनै पनि अप्रिय घटना नभएको उल्लेख गर्दै यस वर्ष पनि पूर्ण सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको बताए।
क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा युनाइटेड क्लबका कार्यसमिति सदस्य तथा महोत्सव सुरक्षा व्यवस्थापन उपसमिति संयोजक बुद्ध कार्कीले महोत्सव स्थल र सुरक्षा व्यवस्थाबारे जानकारी गराएका थिए।
