
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका-२७ उपशाखाको २८औँ साधारण सभा शनिबार सम्पन्न भएको छ। उपशाखाका सभापति बोधराज लामिछानेको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष गुरुङले मानवीय पीडा र जोखिम न्यूनीकरणमा जुनियर, युवा र महिला सबै रेडक्रसकर्मीहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए। उनले सामाजिक संघ-संस्थाका सकारात्मक कार्यमा वडा कार्यालयको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उपशाखाकी कोषाध्यक्ष विष्णुकुमारी लामिछानेले रेडक्रसका सात आधारभूत सिद्धान्त वाचन गरेकी थिइन्। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराई, नेपाल रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री डिल्लीराम बराल, लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका प्रमुख हेमराज आचार्य, सल्लाहकार प्रकाशलाल श्रेष्ठलगायतले रेडक्रसको भूमिका र महत्वबारे आ–आफ्ना धारणा राखेका थिए।
वक्ताहरूले उपशाखाले खानेपानी, प्राथमिक उपचार, एम्बुलेन्स सञ्चालन, रक्तदान तथा जुनेश पुनर्गठनलगायतका क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गरे। साथै विगतमा सञ्चालनमा रहेको एम्बुलेन्स सेवा पुनः सञ्चालन गर्नुपर्ने र सडक मापदण्डमा परेको कार्यालय भवन स्थानान्तरण गर्नुपर्ने विषयमा जोड दिएका थिए।
साधारण सभाले सचिव प्रभाकुमारी पौडेलले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णुकुमारी लामिछानेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। सो अवसरमा तारादेवी गुरुङ र लामिछानेलाई सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन उपशाखाका सचिव प्रभाकुमारी पौडेलले गरेकी थिइन्। साथै नयाँ आजीवन सदस्यहरूलाई रेडक्रस अभियानमा स्वागत गरिएको थियो। हाल उपशाखामा २४६ पुरुष र ७७ महिला सदस्य आबद्ध रहेका छन्।
