कास्कीमा पासपोर्टको माग बढ्दै, ६ महिनामा ३ करोड राजस्व संकलन

Share:

पोखरा। कास्कीमा रोजगारी र अध्ययनका लागि विदेश जानेको संख्या बर्सेनि बढ्दै गएको छ। यस आर्थिक वर्षको करिब ६ महिनामा जिल्लामा पासपोर्ट आवेदनद्वारा ३ करोड ५ लाख ३ सय रुपैयाँ राजस्व संकलन भएको छ। साउनदेखि पुस २० गतेसम्म ५ हजार ८ सय ४६ जनाले पासपोर्टको लागि आवेदन दिएका छन्। सोही अवधिमा जिल्लामा ४ हजार ३ सय ८५ नयाँ नागरिकता जारी भएको छ भने नागरिकताको प्रतिलिपि ५ हजार १ सय १४ जनाले लिएका छन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार, संघ/संस्था दर्ताबाट ६ लाख ३० हजार पाँच सय ७०, हातहतियार नवीकरणबाट ९ लाख ८८ हजार १२५, र न्यायिक दण्ड तथा जरिवानाबाट ११ लाख ८६ हजार ७ सय ९० रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसैगरी, छ महिनामा प्रशासनमा सबैभन्दा बढी मुद्दा बैंकिङ कसूरका ३५०, आत्महत्याका ६६ र लागुऔषधका ५५ मुद्दा दर्ता भएका छन्। चालुतर्फ ४८ प्रतिशत र पुँजीगततर्फ ३५ प्रतिशत बजेट खर्च भएको छ भने ७ लाख २२ हजार ९ सय २ रुपैयाँ बेरुजू संकलन गरिएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले शान्ति, सुरक्षा र विकासलाई समाजको अभिन्न हिस्सा मान्दै नागरिकलाई छरितो सेवा दिन प्रशासन प्रयासरत रहेको बताइन्। उनले जेनजी आन्दोलनको बेला ध्वस्त भएका कार्यालय र दस्तावेज पुनःस्थापना गरी सेवा दिइएको जानकारी दिइन्।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ र उपाध्यक्ष सीता अधिकारीले सडक, जग्गा नक्सापास, खानेपानी र सुरक्षासम्बन्धी चुनौती सुनाए। स्थानीयवासीले मर्दी क्षेत्रका खेत-जग्गा कटानी, खानेपानी र सुरक्षामा समस्या परेको उजागर गरे।

सो अवसरमा कास्कीका प्रहरी प्रमुख नवीन कार्की, सशस्त्र प्रहरी बल कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सिना, जिल्ला समन्वय अधिकारी नवराज बराल, मालपोत अधिकृत कालीबहादुर भुजेल र खानेपानी संस्थान प्रमुख आशीष कार्कीले स्थानीय प्रश्नको जवाफ दिएका थिए। स्थानियहरू प्रचण्डशक्ति गुरुङ, सुरज अधिकारी, गोविन्द्रप्रसाद अधिकारी लगायतले आफ्ना जिज्ञासा र गुनासो राखेका थिए।

कमेन्ट गर्नुहोस्
Share: