शान्ति उदय माविमा वडास्तरीय अन्तर विद्यालय नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयमा वडास्तरीय अन्तर विद्यालय नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सरस्वती टीका माध्यमिक विद्यालयकी छात्रा जेनिशा नेपालीले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेकी छन्।

त्यसैगरी कालिका माध्यमिक विद्यालय, आपुभञ्ज्याङकी छात्रा कृतिका केसी द्वितीय तथा आयोजक विद्यालय शान्ति उदय माविका छात्र रिदम लम्साल तृतीय स्थानमा रहे।

विद्यालयको ६६औँ वार्षिकोत्सव तथा ६७औँ अभिभावक दिवसका अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिता विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले कक्षा १० सम्मका विद्यार्थीलाई समेटेर सञ्चालन गरिएको हो।

“राष्ट्रिय एकताको धारः समृद्ध नेपालको आधार” शीर्षकमा आयोजित प्रतियोगिता राष्ट्रिय एकता दिवस तथा ३०४औँ पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई समेत मध्यनजर गर्दै सम्पन्न गरिएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक राजेन्द्र बस्ताकोटीले यस्ता प्रतियोगिताले बालबालिकामा अन्तरनिहित प्रतिभा र सिर्जनशीलता उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

शान्ति उदय भूपू विद्यार्थी मञ्चका उपाध्यक्ष विष्णुहरि पौडेल र पोखरा विश्वविद्यालयका उपप्राध्यापक सञ्जीव पौडेल निर्णायक रहेको प्रतियोगितामा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलप्रसाद आचार्यले विद्यालयले निकट भविष्यमा नेपाल विश्वविद्यालयसँग सहकार्य गर्दै अगाडि बढ्ने विषयमा छलफल गरिरहेको जानकारी दिए।

कार्यक्रममा उपस्थित वक्ताहरूले विद्यार्थीको अभिव्यक्ति क्षमता, आत्मविश्वास र बौद्धिक विकासमा यस्ता प्रतियोगिता अत्यन्त उपयोगी हुने धारणा व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: