मिस तामाङ पोखरा-२०२६ का प्रतियोगी युवतीद्वारा प्रतिभा प्रस्फुटन, कला र संस्कृतिको प्रभावशाली प्रस्तुति

Share:

पोखरा । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हुन लागेको मिस तामाङ पोखरा-२०२६ अन्तर्गत प्रतियोगी युवतीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी युवतीहरूले आफूभित्र रहेको कला, सीप र सिर्जनात्मक क्षमता प्रस्तुत गर्दै दर्शक तथा निर्णायकको मन जित्न सफल भए। प्रतियोगी रोज स्याङदेन लामाले सेल्फ ब्राइडल मेकअप, कविना घिसिङ तामाङले मेकअप कला, र सोनी पाख्रिन तामाङले तामाङ सेलोमा आकर्षक नृत्य प्रस्तुत गरिन्। त्यसैगरी माया दुम्जन तामाङ र सुप्रिया गोले तामाङले सुमधुर गीत गायन, खुसी मोक्तान तामाङले लोक नृत्य, सलिना स्याङदेन तामाङले चित्रकला, तथा सोममाया मोक्तान तामाङले हस्तकलाका सामग्री निर्माण गरी प्रदर्शन गरेकी थिइन्।

प्रतिभा प्रस्फुटन कार्यक्रमका निर्णायकमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष तथा सञ्चारकर्मी कञ्चन थापा, र एसके डान्स एण्ड ट्रेनिङ सेन्टरकी प्रबन्ध निर्देशक माया लामा रहेका थिए। निर्णायकहरूले सबै प्रतियोगीको प्रस्तुति उच्चस्तरीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले तामाङ समुदायको मौलिक कला, संस्कृति र आत्मविश्वास उजागर गर्ने बताए।

गीतकार तीर्थ तामाङले प्रतियोगी युवतीहरू सौन्दर्यको प्रतिनिधि मात्र नभई तामाङ संस्कृतिको पहिचान र भविष्यका सशक्त संवाहक भएको धारणा व्यक्त गरे। त्यस्तै, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले प्रतियोगिताले युवतीहरूको नेतृत्व क्षमता, अभिव्यक्ति र सिर्जनशीलता विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक रोशिला ब्लोन तामाङले स्वागत मन्तव्य राख्दै प्रतियोगीहरूलाई शुभकामना व्यक्त गरिन्। अध्यक्ष तामाङले मिस तामाङ पोखरा प्रतियोगिता संस्कृति, पहिचान, क्षमता र आत्मसम्मानको उत्सव भएको उल्लेख गर्दै आगामी संस्करणलाई अझ परिस्कृत र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

आयोजकका अनुसार मिस तामाङ पोखरा-२०२६ को ग्राण्ड फिनाले माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा आयोजना हुनेछ। ग्राण्ड फिनालेमा ८ जना युवती प्रतिस्पर्धामा सहभागी हुनेछन्।

ग्राण्ड फिनाले कार्यक्रममा बुद्धी तामाङ, दिनेश डिसी, फुलकुमार बोम्जन, विवेक दोङ, सन्तोष बस्याललगायत कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रम नेपाल सरकारका निवर्तमान ऊर्जा मन्त्री तथा ‘उज्यालो नायक’ कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन्। फस्ट रनरअपले ५० हजार, सेकेन्ड रनरअपले ३० हजार, तथा भ्युअर्स च्वाइसतर्फ २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

हालसम्म विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूद्वारा प्रतियोगीहरूलाई बोल्ने कला, महिला सशक्तीकरण, तामाङ भाषा, संस्कार र संस्कृति, साइबर सुरक्षा, महिला अधिकार, सेल्फ डिफेन्स, फिटनेस तथा स्टेज प्रस्तुतिलगायत विषयमा तालिम प्रदान गरिएको छ। कोरियोग्राफी तालिम जिता लामा, रोशिला ब्लोन तामाङ र राम लामाले दिइरहेका छन्। कार्यक्रमका अफिसियल फोटो, भिडियो तथा कन्टेन्ट डाइरेक्टर गणेश बज्र लामा रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: