नेसनल प्याब्सन कास्कीको २७औँ स्थापना दिवस, उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षक सम्मानित

Share:

पोखरा । नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गर्दै आइतबार २७औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। स्थापना दिवसको अवसरमा संस्थाले विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान गर्दै शैक्षिक योगदानको कदर गरेको हो। कार्यक्रममा स्थापना वर्षका आधारमा विद्यालय सम्मान, एसईई-२०८१ मा सतप्रतिशत नतिजा हासिल गरेका विद्यालय सम्मान, एसएलसी तथा एसईई-२०८१ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा विद्यालय सम्मान र दीर्घ सेवा पदक सम्मान-२०८२ प्रदान गरिएको थियो।

यस वर्षको शिक्षा/साहित्य सेवा सम्मान-२०८२ बाट वरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइराला सम्मानित भएकी छन्। उनलाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठलगायत पदाधिकारीले नगद २५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

स्थापना वर्षका आधारमा सम्मानित विद्यालयहरूमा न्यू लिटिल स्टेप सेकेन्डरी स्कुल (२०५७), नेसनल क्रियसन एकेडेमी (२०६३), ओम एकेडेमी (२०६३) र पिक एभरेष्ट बोर्डिङ स्कुल (२०६४) रहेका छन्। एसईई-२०८१ मा सतप्रतिशत नतिजा हासिल गर्ने विद्यालयहरूमा अञ्जुली आवासीय मावि, बालप्रतिभा बोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेन्डरी स्कुल, लाविन रेसिडेन्सियल स्कुल, नेसनल क्रियसन एकेडेमी, पुष्पसदन एकेडेमी, श्री रत्नज्योति मावि र युनिभर्स बोर्डिङ स्कुल रहेका छन्।

एसएलसी-२०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी/विद्यालयतर्फ आशिष गौतम (कास्की मोडर्नाइज्ड एकेडेमी, ३.८५ GPA) र अलिशा पुन (त्रिवेणी पब्लिक मावि, ३.७८ GPA) लाई नगद १०/१० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

त्यस्तै एसईई-२०८१ मा ४.०० GPA ल्याउन सफल दिप्सन घर्ती, नितेश थापा (कास्की मोडर्नाइज्ड एकेडेमी), सुस्मा खत्री, नितु भण्डारी (बड्स एकेडेमी) र कृतिका बी.क. (लाविन रेसिडेन्सियल स्कुल) लाई नगद ५०/५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

दीर्घ सेवा पदक सम्मान-२०८२ बाट कास्की जिल्लाका विभिन्न विद्यालयमा लामो समयदेखि सेवा गर्दै आएका शिक्षक तथा कर्मचारीहरू सम्मानित भएका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बसन्तबहादुर श्रेष्ठले नेसनल प्याब्सनले शिक्षा क्षेत्रमा निरन्तर गुणस्तर, नवप्रवर्तन र व्यावसायिकता कायम गर्दै आएको उल्लेख गरे। सम्मानित व्यक्तित्व हरिदेवी कोइरालाले शैक्षिक संस्थाबाट सम्मान पाउनु गर्वको विषय भएको बताइन्।

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले आजको आवश्यकता संस्कारयुक्त, प्रतिस्पर्धी र जीवनोपयोगी शिक्षा भएकोमा जोड दिए।

कार्यक्रममा नेसनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची र विष्णु पराजुली, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, प्याब्सियु केन्द्रीय अध्यक्ष शिवलाल उपाध्याय लगायतले आ-आफ्नो धारणा राखेका थिए।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत मन्तव्य र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: