
पोखरा । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा महानगरपालिका वडा नं.२६ उपशाखाको ३२औँ वार्षिक साधारणसभा आइतबार पोखरामा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ ले समुदायस्तरमा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गर्दै आएको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए।
उनले रेडक्रसले प्राथमिक उपचार, विपद् तथा प्रकोपको समयमा राहत र उद्धार, साथै विपन्न तथा असहाय परिवारलाई सहयोग गर्दै मानवीय क्षति न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको उल्लेख गरे।
सो अवसरमा उपशाखाका सभापति अम्बिका मोहन भट्टराईले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपशाखा अन्तर्गत रहेका अति विपन्न परिवार तथा उपचार खर्च अभावमा उपचार गर्न नसक्ने बिरामीहरूलाई आवश्यक परेमा व्यक्तिगत खर्चबाट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा कोषाध्यक्ष बुद्धराज बस्यालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
साधारणसभाको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको श्री डण्डपाणी तिवारी स्मृति अक्षयकोष तथा सवित्री मोहन शर्मा स्मृति अक्षयकोषबाट प्रदान गरिने जेहेन्दार छात्रवृत्ति अन्तर्गत भवानी कालिका माध्यमिक विद्यालय, कक्षा ८ की छात्रा रश्मि आचार्य र अमर ज्योति गाउँ फर्क माध्यमिक विद्यालय, कक्षा ५ की छात्रा रेनुका ढुङ्गानालाई सम्मान गरिएको थियो। साथै, समुदायमा सामाजिक योगदान पुर्याएको भन्दै सूर्यदेवी बराललाई विशेष सम्मान प्रदान गरिएको थियो।
उपशाखाका सभापति भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य तथा प्रतिनिधि शुभास अधिकारी, पूर्वसभापतिहरू नारायणप्रसाद बराल, मुरारी शर्मा, चन्द्रबहादुर रानाभाट, पूर्वसचिव मनोहरी ढुङ्गाना, सामाजिक व्यक्तित्व शिवबहादुर रानाभाट, अक्षयकोषदाता झलकपाणी तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा उपसभापति प्रमिला बरालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव महादेव ढुङ्गानाले गरेका थिए।
