कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत प्रतिनिधि सहभागी

Share:

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रारम्भ भएको छ । महाधिवेशनमा आइतबार दुई हजार ६६२ (५६.१२ प्रतिशत) प्रतिनिधि सहभागी भएका छन् । बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई सुदृढ बनाउने, जनभावना अनुरूपको नीति निर्माण गर्ने र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टी रूपान्तरण र पुनर्निर्माणको दृढ उद्देश्यसाथ कांग्रेसको यो महाधिवेशन सुरु भएको हो ।

दुई हजार ४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएको तीन महिना पुग्न दुई दिनअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने भए पनि उक्त निर्णय नभएपछि केन्द्रीय कार्यालय अर्थात् महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा विशेष महाधिवेशन आरम्भ भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशनको मिति तय गरेको थियो तर विशेष महाधिवेशन आयोजक समितिले पार्टी विधान अनुसारै विशेष महाविधेशन आयोजना गरेको प्रस्टीकरण दिएको छ ।

कांग्रेस नेता एवं विशेष महाधिवेशन सचिवालयका सदस्य युवराज पाण्डेयका अनुसार उद्घाटनकै दिन दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन भएको छ । विशेष महाधिवेशन उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, संस्थापन इतर समूहको नेतृत्व गरिरहनुभएका नेता डा. शेखर कोइरालासहित शीर्ष नेतालाई निम्तो गरिए पनि उनीहरु अनुपस्थित रहे।

सभापति देउवानिकट पूर्वउपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य पुष्पा भुसालसहित निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने माग राख्नुभएका २५ जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भए । कार्यक्रमका अधिकांश वक्ताले पार्टी सभापति देउवा, कार्यवाहक सभापति खड्कासहित शीर्ष नेताहरू उद्घाटनमा अनुपस्थित भए पनि बन्दसत्रमा सोमबार सहभागी हुने विश्वास व्यक्त गरे। महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन उद्घाटन गरे।

दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर

विशेष महाधिवेशनको जिल्ला, क्षेत्र सम्पर्क एवं समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार आइतबार कुल चार हजार ७४३ मध्ये दुई हजार ६६२ (५६.१२ प्रतिशत) महाधिवेशन प्रतिनिधिको नामावली सङ्कलन भएको छ, जसमा कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४ र सुदूरपश्चिम प्रदेशबाट १५८ महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सामेल भएका छन् । त्यसै गरी उपत्यकाबाट १७८ र भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएका छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: