
पोखरा । विश्वकर्मा समुदायको पहिचान, संस्कृति र प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ। बी ब्रोज इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समुदायभित्रका युवायुवतीहरूको आत्मविश्वास, व्यक्तित्व विकास तथा सामाजिक चेतनालाई केन्द्रमा राखिएको थियो।
विभिन्न प्रतिस्पर्धात्मक चरणहरू पार गर्दै मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा बिकले उपाधि हात पार्न सफल भएकी छन्। उनीहरूको सशक्त प्रस्तुति, आत्मविश्वास र व्यक्तित्वले निर्णायक मण्डल मात्र होइन, दर्शकको समेत मन जित्न सफल भयो।
त्यसैगरी प्रतियोगितामा फस्ट रनरअपमा संगिता ल्वागुन, सेकेन्ड रनरअपमा संगिता सुनार तथा अर्गनाइजर च्वाइस अवार्ड बिबिसा बिश्वकर्मा ले प्राप्त गरेकी छन्। विजेताहरूले उपाधिसँगै मिस्टर एन्ड मिस बिश्वकर्मा राष्ट्रिय प्रतियोगितामा सिधै सहभागिता, नगद पुरस्कार तथा आकर्षक उपहारहरू प्राप्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले बिश्वकर्मा समुदाय ऐतिहासिक रूपमा सीप, कला र श्रमसँग जोडिएको समुदाय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समुदायको आत्मसम्मान र पहिचानलाई थप मजबुत बनाउने बताए।
त्यसैगरी विशेष अतिथि लोकप्रिय गायक प्रकाश सपुत ले विजेता तथा सहभागीहरूलाई शुभकामना दिँदै बिश्वकर्मा समुदायको संघर्ष, प्रतिभा र उज्ज्वल सम्भावनाको खुलेर प्रशंसा गरे।
कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा बिश्वकर्मा समुदायको मौलिक पोषाक सार्वजनिक गरिएको थियो, जसले समुदायको संस्कृति, इतिहास र पहिचानलाई अझ जीवन्त रूपमा प्रस्तुत गरेको सहभागीहरूको प्रतिक्रिया थियो।
प्रतियोगिताको मूल्यांकन अनुभवी तथा प्रतिष्ठित निर्णायक मण्डल द्वारा गरिएको थियो। निर्णायकको भूमिकामा डिजाइनर अमित बराल, सामाजिक अभियन्ता सारिका गुरुङ, मिस्टर एन्ड मिस बिश्वकर्मा नेशनल सिजन-४ का विजेता शौरव बिश्वकर्मा तथा डिजाइनर शुष्मा गुरुङ रहेका थिए। उनीहरूले सहभागीहरूको व्यक्तित्व, प्रस्तुति, आत्मविश्वास र सामाजिक दृष्टिकोणका आधारमा मूल्यांकन गरेका थिए।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन मञ्जु बिक, बिपास सुनार र समिर रामदाम ले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।
समग्रमा, ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन-३’ कार्यक्रमले बिश्वकर्मा समुदायको पहिचान, क्षमता र सम्भावनालाई उजागर गर्दै एक प्रेरणादायी सन्देश प्रवाह गर्न सफल भएको आयोजकको भनाइ छ।

