विन्ध्यवासिनी माविमा मेयर धनराज आचार्यद्वारा शैक्षिक अक्षयकोष स्थापना

Share:

पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा-१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह को अवसरमा उनले आफ्ना बुबा र भाइ शिवराजले अध्ययन गरेको विद्यालयप्रति सम्मान प्रकट गर्दै उक्त अक्षयकोष स्थापना गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर आचार्यले सामुदायिक विद्यालयलाई अब्बल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै विन्ध्यवासिनी मावि त्यसको उत्कृष्ट उदाहरण भएको बताए। उनले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै कमजोर विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महानगर सहयोगका लागि तयार रहेको स्पष्ट पारे।

कार्यक्रममा विद्यालयको सर्वोच्च ‘अध्यक्ष अवार्ड’ प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई प्रदान गरिएको छ। विद्यालय व्यवस्थापन समितिको समन्वयमा अध्यक्षले चयन गर्ने उक्त अवार्ड पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख भाष्करराज पन्त, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, पुष्पेन्द्र पाण्डे तथा शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले सम्मानपत्रसहित प्रदान गरेका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले अवार्ड घोषणा गरेका थिए।

सम्मान ग्रहणपछि प्रधानाध्यापक आचार्यले यो सम्मान आफ्नो मात्र नभई विद्यालयको शैक्षिक तथा भौतिक विकासमा अहोरात्र खटिने सम्पूर्ण शिक्षक–कर्मचारीप्रतिको सम्मान भएको बताए। यसले आफूलाई अझ जिम्मेवार र ऊर्जाशील बनाएको उनको भनाइ थियो।

२०५२ सालदेखि शिक्षण क्षेत्रमा क्रियाशील आचार्य २०७३ साउनदेखि निरन्तर प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको कार्यकालमा विद्यालयले राष्ट्रिय तथा प्रदेशस्तरका दर्जनौँ उत्कृष्टता अवार्ड जित्न सफल भएको छ। २०७९ मा नेपाल सरकारको गुणस्तर मापन केन्द्रको सर्वेक्षणमा देशभरका सामुदायिक विद्यालयमध्ये प्रथम, २०८० मा गण्डकी प्रदेश प्रथम, एसइई नतिजामा लगातार उत्कृष्टता, आईसीटी अवार्ड २०२५ मा देशभरका उत्कृष्ट ३ विद्यालयभित्र पर्नु लगायतका उपलब्धिले विद्यालयलाई राष्ट्रिय पहिचान दिलाएको छ।

पछिल्ला तीन वर्षमा मात्रै देशभरका ८ सय ७५ भन्दा बढी विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षा अधिकारी तथा जनप्रतिनिधिहरूले विद्यालयको असल अभ्यास अवलोकन गरिसकेका छन्। प्रधानाध्यापक आचार्यले विद्यालयलाई नै ‘तालिम केन्द्र’ का रूपमा विकास गर्दै शैक्षिक नवप्रयोगलाई निरन्तर अघि बढाएका छन्।

कार्यक्रममा विषयगत उत्कृष्ट शिक्षक, दीर्घ सेवा, तहगत शिक्षक, उत्कृष्ट अभिभावक, मनिटर, वर्ष विद्यार्थी, उच्च न्एब् ल्याउने विद्यार्थी लगायतलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो। एसइई २०८१ मा ४ जिपीए ल्याउने विद्यार्थी सहज घिमिरेलाई नगद ५० हजार र कक्षा ८ मा ४ जिपीए ल्याउने अनुज आचार्यलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ।

त्यसैगरी विभिन्न अक्षयकोष पुरस्कार, पुस्तकालय पुस्तक संकलन अभियान, पठन पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ। समारोहमा विद्यार्थीहरूले पञ्चेबाजा, मार्चपास, लोकनृत्य, भजन, नाटक तथा विज्ञान प्रदर्शनी प्रस्तुत गरेका थिए। वार्षिकोत्सवको अवसरमा विद्यालयले रक्तदान, सरसफाइ तथा खेलकुद कार्यक्रमसमेत सञ्चालन गरेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख भाष्करराज पन्त, शिक्षा विकास समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: