बालेन शाह झापा-५ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने लगभग निश्चित, माघ ४ मा मेयर पदबाट राजीनामा दिँदै

Share:

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ। यसका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका शीर्ष नेताहरूसँग काठमाडौंमा गोप्य तथा रणनीतिक छलफलसमेत गरिसकेका छन्।

रास्वपा झापाका सचिव शम्भु सुस्केरा ढकाल का अनुसार मेयर शाहले झापा-५ बाट उम्मेदवारी दिने स्पष्ट संकेत गर्दै त्यहाँको राजनीतिक अवस्था, संगठनात्मक शक्ति-कमजोरी र चुनावी रणनीतिबारे विस्तृत विवरण लिएका थिए। आइतबार काठमाडौंमा झापाबाट पुगेका नेताहरू र बालेनबीच करिब डेढ घण्टा लामो छलफल भएको बताइएको छ।

छलफलमा प्रतिपक्षीलाई कसरी कमजोर बनाउने, चुनावी अभियान कसरी परिचालन गर्ने र संगठन कसरी सुदृढ बनाउने विषयमा केन्द्रित संवाद भएको रास्वपा झापाले जनाएको छ। झापा-५ हालसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ले लगातार जित्दै आएको क्षेत्र हो।

स्रोतका अनुसार बालेन शाहले आफ्नो आन्तरिक सचिवालय संयन्त्रमार्फत झापाको राजनीतिक अवस्था पहिलेदेखि नै अध्ययन गरिरहेका थिए। त्यसलाई थप पुष्टि गर्न रास्वपा झापाका पदाधिकारीहरूलाई काठमाडौं बोलाइएको हो। सचिवालयको रिपोर्ट र स्थानीय नेताहरूसँगको छलफलपछि बालेन झापा-५ बाटै चुनाव लड्ने निष्कर्षमा पुगेका नेताहरूले बताएका छन्।

बैठकले माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने, त्यसपछि माघ ५ गते जनकपुरमा रवि लामिछानेसँग संयुक्त रूपमा चुनावी सभालाई सम्बोधन गर्ने र माघ ६ गते झापामा र्‍यालीसहित उम्मेदवारी दर्ता गर्ने तयारी गर्ने निष्कर्ष निकालेको जनाइएको छ।

जनकपुर सभा धनुषा निर्वाचन क्षेत्र नं. ३ मा आयोजना हुने छ, जहाँबाट रास्वपाका प्रवक्ता मनिष झा प्रतिनिधिसभा उम्मेदवारका लागि एकल सिफारिसमा परेका छन्।

झापामा चुनावी कार्यालयका लागि घर खोजिँदै

बालेन शाह झापाबाट उम्मेदवार बन्ने निश्चित भएसँगै झापा-५ मा चुनावी कार्यालय र बसोबासका लागि घर खोज्ने काम तीव्र पारिएको छ। रास्वपाका अनुसार दमकस्थित क्याम्पस मोड र गोर्खा किचन आसपास केही घरहरू कार्यालय प्रयोजनका लागि निःशुल्क उपलब्ध गराउने प्रस्तावसमेत आएको छ।

रास्वपा झापाका अध्यक्ष प्रकाश पाठकले दमकमा दुईवटा घरको स्थल निरीक्षण भइसकेको जानकारी दिँदै छिट्टै एउटा घरलाई कार्यालयका रूपमा प्रयोग गर्ने निर्णय लिइने बताए।

झापा-५ बाट उम्मेदवार बने पनि बालेन शाहको राजनीतिक अभियान झापामै सीमित नरहने रास्वपाको रणनीति छ। झापा, मोरङ, सुनसरी, इलामलगायत कोसी प्रदेशभर जनसम्पर्क र चुनावी गतिविधि विस्तार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

रास्वपाको वरिष्ठ नेतामा मनोनीत भइसकेका बालेनले हालसम्म दलको नेताको रूपमा शपथ नलिएको भए पनि शपथलगत्तै चुनावी अभियानमा होमिने रास्वपा नेताहरूको दाबी छ।

बालेन झापाबाट उम्मेदवार बनेर आउने खबरसँगै रास्वपा झापाका नेता–कार्यकर्ता उत्साहित देखिएका छन् भने झापा-५ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: