
पोखरा । पोखराको अमरसिंह चौरमा १४ औँ संस्करणको पोखरा महोत्सव मंगलबारदेखि सुरु भएको छ। युनाइटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले गरेकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पोखरा महोत्सवले पोखराको पहिचान र ब्राण्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उचाल्न महत्वपूर्ण योगदान पुर्याएको बताइन्। उनले महोत्सवमार्फत पोखरा आसपासको कला, संस्कृति प्रवर्द्धन हुनुका साथै आर्थिक चलायमानतामा समेत टेवा पुगेको उल्लेख गरिन्।
पोखरामा अध्ययन गरेको समयदेखि पर्यटन बोर्डको नेतृत्व गर्दा समेत पोखरेलीहरू पर्यटन प्रवर्द्धनमा अग्रसर रहेको अनुभूति गरेको बताउँदै उनले पोखरा महोत्सव त्यसकै उत्कृष्ट उदाहरण भएको धारणा राखिन्।
महोत्सव स्थापना कालदेखि नै आफूले सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री श्रेष्ठले निर्धारित समयमै निर्वाचन हुनेतर्फ सरकार र राजनीतिक दलहरू प्रतिबद्ध रहेको समेत बताइन्।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले युनाइटेड क्लबले अघि सारेको खुला चिडियाखानाको अवधारणा अहिले प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा अघि बढिरहेको जानकारी दिए।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनसँगै लेखनाथमा निर्माणाधीन छात्रावासमा पनि प्रदेश सरकारको सहयोग रहने उनको भनाइ थियो।
गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले सामाजिक कार्यमा निरन्तर लागिरहेको युनाइटेड क्लबलाई प्रदेश सरकारको साथ रहने प्रतिबद्धता जनाए।
त्यस्तै प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ ‘श्याम’ले क्लबले पोखरामात्र होइन, देशभर शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको भन्दै व्यक्तिगत र सरकारी तहबाट सहयोग गर्ने बताए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पोखरा महोत्सवले सामाजिक उत्तरदायित्व बहन गरिरहेको उल्लेख गर्दै १४ औँ संस्करणको सफलताको कामना व्यक्त गरे। संविधानसभा सदस्य राजकाजी गुरुङले युनाइटेड क्लबसँगको सहकार्यले सामाजिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको धारणा राखे।
बन्दीपुर केबलकारका उपाध्यक्ष किरण पोखरेलले युनाइटेड क्लबसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै महोत्सव सफलताको कामना दिए। प्राध्यापक डा. कृष्ण केसीले महोत्सवले सामाजिक गतिविधिसँगै पर्यटकीय गन्तव्य निर्माणमा योगदान पुर्याउँदै आएको उल्लेख गरे।
अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला, पोखरा महानगरपालिका वडा नं. १० का अध्यक्ष राजेश गुरुङ तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले महोत्सवले शिक्षा, सामाजिक सेवा र आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको धारणा राख्दै सफलताको कामना गरे।
युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले खुला चिडियाखाना, छात्रावास निर्माण, सेती नदी संरक्षण र विपद् व्यवस्थापनलाई क्लबको मुख्य प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए।
कार्यक्रममा सामाजिक सञ्जालमार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएकी मुना केसी (मुना चिया) र विश्व साइकल यात्रामार्फत नेपाललाई चिनाएका अजित बराललाई सम्मान गरिएको थियो।
नेपाली चलचित्रका चर्चित कलाकार विपिन कार्की र विजय बरालले मन्तव्यसहित प्रस्तुति दिएका थिए। साथै महोत्सव अवसरमा सञ्चालनमा ल्याउन लागिएको ‘भी पोखरा एप’ बारे जानकारीमूलक प्रस्तुति दिइएको थियो ।
युनाइटेड क्लबका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य र दिनेश सुनारले कार्यक्रम सञ्चालन गरेका थिए।
यसअघि महोत्सव पूर्व आयोजित झाँकी तथा र्यालीमा ३ सयभन्दा बढी संघसंस्था तथा आमा समूहको सहभागिता रहेको थियो। झाँकी तथा र्याली प्रतियोगितामा विभिन्न संघसंस्थाले उत्कृष्ट स्थान हासिल गरेका थिए।
महोत्सवको पहिलो दिन लोकदोहोरीतर्फ सम्झना लामिछाने, कृष्ण सुवेदी, माया गुरुङ लगायतको प्रस्तुति रहेको थियो भने साँझ लाइभ ब्यान्डतर्फ अन्तरवाणी र रोहितजंग एण्ड कलेक्टिभको प्रस्तुति आकर्षण बनेको थियो।
बुधबार लोकदोहोरीतर्फ रवि कार्की, पुरुषोत्तम न्यौपाने, सबिना गुरुङ लगायत कलाकारहरूको प्रस्तुति रहने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।

