विद्यार्थी गुणीय चक्रको १९औँ राष्ट्रिय सम्मेलन पोखरामा सुरु, जीवनोपयोगी शिक्षा र नेतृत्व विकासमा जोड

Share:

पोखरा । विद्यार्थीको नेतृत्व विकास, नैतिक मूल्य र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्यसहित विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन बुधबारबाट पोखरामा सुरु भएको छ । क्वेष्ट नेपाल र सेन्ट मेरीज सेकेण्डरी स्कुल पोखराको संयुक्त आयोजनामा उक्त सम्मेलन पोखरामा सुरु भएको हो । उक्त सम्मेलनको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन् । सम्मेलनको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले विद्यार्थी गुणीय चक्रलाई पाठ्यपुस्तकभन्दा बाहिरको जीवनोपयोगी शिक्षा भएको उल्लेख गरिन् ।

आजका बालबालिका प्रतिभाशाली र प्रविधिमैत्री भए पनि तीव्र सामाजिक परिवर्तन, मानसिक दबाब र अनिश्चितताबीच सही मार्गदर्शन आवश्यक रहेको भन्दै उनले विद्यार्थी गुणीय चक्रले सोच, चरित्र र नेतृत्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्नु कानुनविपरीत भएको स्मरण गराउँदै उनले सुरक्षित सिकाइ वातावरण र बालमैत्री नीतिप्रति मन्त्रालय प्रतिबद्ध रहेको धारणा राखिन् ।

क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेश प्रसाद चापागाईंले पछिल्ला दुई दशकमा नेपालभर विद्यार्थी गुणीय चक्र विस्तार भएकोमा सन्तोष व्यक्त गरे । विद्यार्थी गुणीय चक्रले विद्यार्थीको व्यक्तित्व विकासका लागि डिजाइन गरिएको प्रक्रिया भएको उल्लेख गर्दै उनले विद्यार्थीलाई दक्ष बनाउने लक्ष्य रहेको बताए ।

“आफैँसँग प्रतिस्पर्धा गरौँ, अरूसँग सहकार्य गरौँ” भन्ने विद्यार्थी गुणीय चक्रको मूल मन्त्र आत्मसात् गर्न उनले विद्यार्थीहरूलाई आग्रह गरे । क्वेष्ट नेपालको प्रमुख सल्लाहकार सुरिना सुनयनी गुरुङले नेपालभरका विद्यार्थीहरुलाई एक ठाँउमा भेला गराई क्वेष्ट नेपालले विद्यार्थीहरुको गुणस्तरको पहिचानमा महत्वपूर्ण काम गर्दै आइरहेको बताइन् ।

सम्मेलनकी सह संयोजक तथा सेन्ट मेरिजकी प्रध्यानाध्यापक सिस्टर जेसी.सी. जे.ले विद्यार्थीहरुलाई समस्याको पहिचान गरी समस्याको मुल जरामा पुगी समस्याको समाधानमा आफै लाग्नुपर्नेमा जोड दिए । क्वेष्ट नेपालका अध्यक्ष नारद रिजालले सम्मेलनमा विद्यार्थीहरुले आफुहरुले सोचेको भन्दा राम्रो गरेको र अझै दुई दिन सम्म सञ्चालन हुने कार्यक्रमले विद्यार्थीहरुलाई धेरै फाइदा पुग्ने बताए । तीन दिन सम्म हुने सम्मेलनमा विविध शैक्षिक तथा सिर्जनात्मक गतिविधिसहित सञ्चालन भइरहेको छ ।

सम्मेलनको पहिलो दिन प्रतिनिधिहरूको रिपोर्टिङबाट कार्यक्रम सुरु भएको थियो । त्यसपछि समानान्तर सत्र, विद्यार्थी गुणीय चक्र केस स्टडी प्रस्तुति, प्रतिस्पर्धात्मक कार्यक्रम, कार्यशाला तथा अवलोकन भ्रमण (साइट सिइङ) कार्यक्रमहरू सञ्चालन छन् । प्यानल छलफलमा विद्यार्थी प्रतिनिधिहरूले विद्यार्थी गुणीय चक्रले उनीहरूको सोच, व्यवहार, आत्मविश्वास र नेतृत्व क्षमतामा ल्याएको परिवर्तनबारे अनुभव प्रस्तुत गरे ।

छलफलमा आजको समाजको प्रमुख समस्या इम्प्टी ग्याप (एकअर्कालाई बुझ्ने क्षमताको कमी) रहेको निष्कर्ष निस्केको थियो ।चितवन, गोदावरी, झापा, रुपन्देही, पोखरा, सुदूरपश्चिमलगायत विभिन्न हबका विद्यार्थीहरूले क्त्तऋ मार्फत समस्या पहिचान, विश्लेषण र समाधानका चरणहरू सिकेको बताए । प्लान, एक्सन, डुइङ र चेक चक्र, पाइ डायग्राम, लाइन ग्राफ, पेयर रेङकिङ, परेटो चार्ट, इसिकावा डाइग्राम, व्हाइ व्हाइ एनलाइसिस जस्ता उपकरण प्रयोग गरेर विद्यालय तथा समुदायका वास्तविक समस्यामा काम गरिएको अनुभव सुनाउँदै सहभागीहरूले विद्यार्थी गुणीय चक्र सुरक्षित अभिव्यक्ति, सहकार्य र निर्णय क्षमताको अभ्यासस्थल भएको धारणा राखे ।

कार्यक्रममा सहभागीहरूको साझा निष्कर्ष थियो । विद्यार्थी गुणीय चक्र केवल एउटा कार्यक्रम नभई जीवनका लागि आवश्यक सहानुभूति, सहकार्य, नेतृत्व र जिम्मेवारी विकास गर्ने प्रभावकारी प्रक्रिया हो । दिगो भविष्यका लागि सक्षम र सहनशील मन निर्माणमा विद्यार्थी गुणीय चक्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको प्यानल डिस्करसनका सहजकर्ता ज्यासमिन कारन्जित श्रेष्ठले बताइन् ।

सम्मेलनका क्रममा विद्यार्थी गुणीय चक्र थीम गीत, स्वागत नृत्य, केस स्टडी प्रस्तुति, प्रशंसापत्र वितरण तथा सम्मान कार्यक्रम पनि सम्पन्न भएका छन् । आयोजकका अनुसार सम्मेलनले विद्यार्थी, शिक्षक र अभिभावकबीच सहकार्यको नयाँ ऊर्जा थप्दै विद्यार्थी गुणीय चक्रलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ । कार्यक्रममा विद्यार्थी गुणस्तर वृत्तका पिता तथा प्रमुख संरक्षक दिनेश प्रसाद चापागाईं, पोखरा महानगरपालिका वडा नं.१५ का बलराम पौडेल, शिक्षा विभाग प्रमुख कृष्ण भण्डारीसहित शिक्षा, समाजसेवा र विद्यार्थी गुणीय चक्र अभियानसँग आवद्ध विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: