
पोखरा। पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औँ पोखरा महोत्सव अन्तर्गत गण्डकी प्रदेशमा लोकप्रिय परम्परागत मौलिक खेल छेलो/ठेलो प्रतियोगिता आयोजना हुने भएको छ। परम्परागत खेलको प्रवर्द्धन, संरक्षण तथा नयाँ पुस्तामा यसको महत्व उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। माघ ४ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने खेलाडीले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक गणेश खड्काले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन चाहनेले माघ २ गतेसम्म नाम दर्ता गर्नुपर्नेछ। २५० रुपैयाँ दर्ता शुल्क तोकिएको प्रतियोगितामा माघ ४, ६, ७ र ८ गते क्वालिफाइङ राउण्ड खेलाइनेछ भने उत्कृष्ट १२ खेलाडी फाइनल चरणमा प्रवेश गर्ने खेल संयोजक गजबहादुर गुरुङले बताए।
महोत्सवको दोस्रो दिन लोकदोहोरी तर्फ चर्चित गायक रवि कार्की, पुरुषोत्तम न्यौपानेसँगै कलाकार सबिना गुरुङ, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री रमा गौतम लगायतले सशक्त प्रस्तुति दिएका थिए। तेस्रो दिन बिहीबार शान्तिश्री परियार, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, सन्तोष सुवेदी, पार्वती गुरुङ, रमेश थापा मगर लगायतको प्रस्तुति रहने प्रचार-प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए। साँझको लाइभ कन्सर्टमा युवापुस्तामाझ लोकप्रिय गायक लाहुरेको प्रस्तुति रहनेछ।
महोत्सवका मुख्य प्रायोजक बेटर होम एप्लायन्सको स्टलबाट १ हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा १ कुपन प्राप्त हुनेछ। भाग्यशाली उपभोक्तामध्ये प्रथम हुनेलाई १ टनको बेटर एसी, दोस्रो हुनेलाई १५ लिटर वाटर डिस्पेन्सर वा गिजर, तेस्रो हुनेलाई ग्लासहुड चिम्नी तथा चौथो हुनेलाई भ्याकुम क्लिनर प्रदान गरिने आयोजकले जनाएको छ । सान्त्वना पुरस्कारमा एयर फ्रायर प्रदान गरिनेछ। विजेताको घोषणा महोत्सवको अन्तिम दिन गोलाप्रथाबाट गरिनेछ।
प्रायोजकहरूबाट बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले दैनिक ५ जनालाई निःशुल्क केबलकार टिकट, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी ले भाषा कक्षामा ५० प्रतिशत छुट तथा दैनिक एकजनालाई निःशुल्क भाषा कक्षा, बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टर बाट ३० प्रतिशत छुट, पोखरा सेकुवा घर बाट १० प्रतिशत छुट तथा कान्तिपुर डेण्टल हस्पिटल द्वारा दैनिक निःशुल्क दाँत परीक्षण गरिने जनाएको छ ।
टिकटक प्रतियोगितामा लाइकको आधारमा प्रथम हुनेलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिने समेत आयोजकले जनाएको छ।महोत्सवको टिकट अनलाइनमार्फत ‘रेभल एप’ बाट समेत बुकिङ गर्न सकिने आयोजकले जनाएका छन्। परम्परा, मनोरञ्जन, खेलकुद र उपहारको संगम बनेको पोखरा महोत्सव दर्शक तथा सहभागीका लागि विशेष आकर्षण बनेको छ।
