पोखरामा मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु

Share:

पोखरा। पोखरा-१४, मनकामना टोलस्थित खेल मैदानमा मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। मनोहर युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरेका हुन्।

उद्घाटन समारोहमा मन्त्री थापाले यस्ता खेलकुद प्रतियोगिताले युवा प्रतिभा उजागर गर्नुका साथै आपसी सद्भाव र सामाजिक एकता मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले प्रतियोगिता सफल बनाउन प्रदेश सरकार तथा मन्त्रालयको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता पनि जनाए।

प्रतियोगिताअन्तर्गत पहिलो दिन सम्पन्न खेलहरूमा आयोजक मनोहर युवा क्लब ‘ए’ र पोखरा युनाइटेडले विजयी सुरुआत गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेका छन्।

पहिलो खेलमा आयोजक मनोहर युवा क्लब ‘ए’ ले गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशक्त सुरुआत गर्‍यो। आयोजक टोलीले पहिलो सेट २५–१० र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। रोमाञ्चक तेस्रो सेटमा आयोजक टोलीले २६–२४ को संघर्षपूर्ण जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो।

दोस्रो खेलमा पोखरा युनाइटेडले वाकओभर पाउँदै अर्को चरणमा प्रवेश गर्‍यो। प्रतिस्पर्धी कप्स एण्ड विडर्स निर्धारित समयमा मैदानमा उपस्थित नभएपछि रेफ्रीले पोखरा युनाइटेडलाई विजेता घोषणा गरेका थिए।

१४ टोलीको सहभागिता रहेको प्रतियोगितामा भोलि चार खेल सञ्चालन हुनेछन्। भोलिको पहिलो खेल बिहान ८ बजे नवज्योति पोखरा–१४ र मादी–७ बीच हुने आयोजकले जनाएको छ।

माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ पाउनेछ। त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा एक टिममा बढीमा तीन जना राष्ट्रिय खेलाडी समावेश गर्न पाइने व्यवस्था गरिएको छ। भलिबल संघको समन्वयमा आयोजना गरिएको प्रतियोगिताका सबै खेल दर्शकका लागि निःशुल्क गरिएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: