नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्णायक मोडमा, सर्वसम्मत कार्यसमिति घोषणा हुँदै

Share:

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा गत आइतबारदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन निर्णायक चरणमा पुगेको छ। महाधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा घोषणा गरिने तयारी अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन्।

नेता गुरुराज घिमिरेका अनुसार केहीबेरमै पार्टीको नयाँ नेतृत्व सार्वजनिक गरिनेछ। लामो छलफल र आन्तरिक संवादपछि सहमतिमा पुगिएको दाबी गरिएको छ।

तर, महाधिवेशनकै बीचमा पार्टीभित्र गम्भीर राजनीतिक तरंग उत्पन्न भएको छ। पार्टी सभापति शेरबहादुर देउवा समूहले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिसकेको छ।

नेताहरूको निष्कासनसँगै नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको संघारमा पुगेको विश्लेषण हुन थालेको छ। एकातर्फ सर्वसम्मत नेतृत्व घोषणा गर्ने तयारी र अर्कोतर्फ प्रभावशाली नेताहरूको कारबाहीले पार्टीभित्र गहिरो ध्रुवीकरण देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार विशेष महाधिवेशनबाट नेतृत्व त घोषणा होला, तर पार्टीभित्रको संकट, असन्तुष्टि र विभाजनको खतरा तत्काल समाधान हुने संकेत देखिएको छैन। अब घोषित हुने नयाँ कार्यसमितिको पहिलो चुनौती नै पार्टी एकता जोगाउनु हुने देखिन्छ।

कमेन्ट गर्नुहोस्
Share: