आर्थिक चुनौतीबीच ग्रीन डेभलपमेन्ट बैंकको सशक्त प्रदर्शन, ८.४६% लाभांश वितरण गर्ने निर्णय

Share:

पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई कुल ८.४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पोखराको न्युरोडस्थित सिटी स्क्वायर ब्यांक्वेटमा सम्पन्न बैंकको १३औँ वार्षिक साधारण सभाले सञ्चालक समितिद्वारा प्रस्तावित लाभांशसहितका सबै प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा बोल्दै पूर्वसञ्चालक विश्वमोहन अधिकारीले देशको विद्यमान आर्थिक चुनौतीका बाबजुद बैंकले हासिल गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख गरे।

अर्का पूर्वसञ्चालक मनोविज्ञान श्रेष्ठले आगामी वर्ष सेयरधनीलाई दोहोरो अंकमा प्रतिफल दिन सक्ने कार्ययोजना बनाउन सुझाव दिए। त्यसैगरी, डा. प्रदीप घिमिरेले बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रवाहसँगै डिजिटलाइजेसनमा थप जोड दिनुपर्ने आवश्यकता औँल्याए।

सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरिबहादुर बुढाथोकीले शाखा सञ्जालमार्फत वित्तीय पहुँच विस्तार गर्दै बैंकलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए। उनले भने, “हामी दिगो लगानी प्रवर्द्धन, डिजिटल उपकरणको विस्तार र हरित बैंकिङ अवधारणामार्फत समुदायसँग गहिरो सम्बन्ध कायम गर्दै अघि बढ्नेछौं।”

कार्यक्रममा बैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने सभाको सञ्चालन सिइओ बुढाथोकीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: