
पोखरा। क्वेष्ट नेपालद्वारा आयोजित १९औँ राष्ट्रिय विद्यार्थी गुणीय चक्र (एसक्युसी) सम्मेलन पोखरामा सम्पन्न भएको छ। गत पुष ३० देखि माघ २ गतेसम्म पोखरास्थित सेन्ट मेरिज स्कूलमा आयोजित सम्मेलनको समापन समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यार्थी गुणीय चक्र कार्यक्रम अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्दै उक्त कार्यक्रम महानगरका विद्यालयहरूमा लागू गर्न आफू तत्पर रहेको बताए।
मेयर आचार्यले शिक्षा क्षेत्रमा पाठ्यक्रम, शिक्षण पद्धति र शिक्षकहरूको तयारीमा देखिने कमजोरीलाई एक्स्ट्रा करिकुलर गतिविधिमार्फत सुधार गर्न सकिने धारणा राख्दै विद्यार्थीलाई अलराउण्डर बनाउने क्वेष्ट नेपालको प्रयास प्रशंसनीय रहेको बताए। सम्मेलनका अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, विद्यालय तथा व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
जसअन्तर्गत क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेश प्रसाद चापागाईकी कान्छी छोरी मनशा शर्माको सम्झनामा स्थापित मनशा स्मृति सर्व गुणीय व्यक्तित्व पुरस्कारबाट गृष्मा भट्ट ब्राइट फ्युचर सेकेन्डरी स्कूल काठमाडौं, खुशी भट्टराई कुडोस विद्यालय सदन मोरङ, प्रमेस मण्डल झापा मोडल इ. स्कुल, दमक, सम्यक पोखरेल, काठमाण्डू युनिभर्सिटी हाइस्कुल चौकोट र सारा काफ्ले बेबिलोन नेश्नल स्कुल काठमाण्डौं सम्मानित भए । यो उक्त पुरस्कारको नवौं शृङ्खला हो ।
यसै वर्ष स्थापना गरिएको दिनेश चापागाईं अन्तराष्ट्रिय गुणस्तर पुरस्कारबाट भारतका डा. विनिता कामरन पुरस्कृत भइन् । उक्त पुरस्कारकोलागि नेपालबाट ३ जना, बेलायतबाट १ जना र पाकिस्तानबाट १ जना गरी ५ सदस्यीय निर्णायक मण्डल बनेको थियो । साथै यसै वर्ष शुरु भएको एसक्युसी क्वालिटी हब अवार्डको लागि देशभरका २६ हबमध्ये एफिनिटी हब, झापा हब र श्रीनगर हब छनौट भएका छन् ।
त्यसैगरी राष्ट्रिय विद्यार्थी गुणीय चक्र विद्यालय पुरस्कारबाट बेथेल इङ्ग्लिस स्कुल पाल्पा, पाल्पा परागाउँ स्कुल पाल्पा, पिनाकल ज्ञान मन्दिर स्कुल मोरङ पुरस्कृत भए । साथै सम्मेलनमा सहकार्यात्मक कला तथा कोलाज प्रतियोगितामा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन बारा र अर्किड स्कूल भरतपुरले प्रथम स्थान हासिल गरेभने आरम्भ एकेडेमी नवलपुर र जेसीस इन्टरनेशनल बोर्डिङ स्कूल काठमाडौंले दोश्रो र लिटिल स्टेप एकेडेमी नवलपुर र शान्ति नमुना माध्यामिक विद्यालय रुपन्देहीले तेस्रो स्थान हासिल गरे ।
सहकार्यात्मक विद्यार्थी गुणीय चक्र ट्रेजर हन्टतर्फ सम्यक गुरुङ, अकुल अधिकारी, आर्या महतो र सियासी सारुको समुह प्रथम, इदुशी राजउपाध्याय, श्वेच्छा आचार्य, आयुष चौधरी र नारायण वलीको समुह दोस्रो र हिमाल भट्टराई, अदिती बजगाई, प्रियंका राजवंशी र युनिका सोतीको समुहले तेस्रो स्थान हासिल गरे ।
पुरस्कार वितरण समारोहमा क्वेष्ट नेपालका अध्यक्ष नारद कुमार रिजाल, क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेश चपागाईं, आयोजक विद्यालयकी प्रिन्सिपल सिस्टर जेसी, क्वेस्ट नेपालका संस्थापक सल्लाहकार फादर लरेन्स मनियार लगायतले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा सहभागी विद्यालयहरू, सहयोगी संस्था, स्वयंसेवक र आयोजक टोलीलाई प्रशंसापत्र र स्मृति चिह्न प्रदान गरिएको थियो भने समारोहमा क्वेस्ट नेपालका मुख्य सल्लाहकार सुनयनी गुरुङ, एसक्यूसी थिङ्क ट्याङ्क निराजन अधिकारी र सुवर्ण राज केसी, महासचिव राम बाबु अधिकारी, उपाध्यक्ष मोहन कुमार कार्की, सचिव रबि श्रेष्ठ, कोषाध्यक्ष जमुना महर्जन लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सेन्ट जेभियर्स जावलाखेल, ग्यालेक्सी, विजयपुर स्कूल, एलआरआई, एपेक्स स्कूल, सैनिक आवासीय महाविद्यालय, स्मल हेभन स्कूललगायत विभिन्न विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अर्को २७औँ अन्तर्राष्ट्रिय तथा २०औँ राष्ट्रिय सम्मेलन सन् २०२७ मा सेन्ट जेभियर्स जावलाखेल, ललितपुरमा आयोजना हुने भएको छ ।
समापन समारोहमा आगामी वर्षको सम्मेलनको लागि झण्डा हस्तान्तरण कार्यक्रममा उक्त विद्यालयका प्रिन्सिपल फादर बोनिफेस टिग्गा, सहायक प्रिन्सिपल रमेश महर्जन र गोदावरी हब संयोजक कुन्दन रिजाललाई झण्डा हस्तान्तरण गरिएको थियो । सेन्ट मेरिजका विद्यार्थी द्वय आश्र्या गुरुङ र साराह गुरुङले सञ्चालन गरेको कार्यक्रममा एसएमएसका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
