शान्ति उदय माविको ६६औँ वार्षिकोत्सव तथा ६७औँ अभिभावक दिवस सम्पन्न

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीस्थित शान्ति उदय माध्यमिक विद्यालयले आफ्नो ६६औँ वार्षिकोत्सव तथा ६७औँ अभिभावक दिवस भव्य समारोहका बीच शुक्रबार सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए। सो अवसरमा प्रमुख आचार्यले शान्ति उदय माविले यस क्षेत्रको शैक्षिक उन्नयनमा खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै विद्यालयको समग्र विकासका लागि सामूहिक प्रयास अपरिहार्य भएको बताए।

विद्यालयको अक्षयकोष स्थापनाका लागि सञ्चालन गरिएको अभियानलाई सशक्त बनाउँदै मेयर आचार्यले आफ्ना तर्फबाट १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलप्रसाद आचार्यले शान्ति उदय मावि विगतमा तीन जिल्लाको आकर्षक शैक्षिक गन्तव्यका रूपमा परिचित रहेको स्मरण गराउँदै विद्यालयको आफ्नै विशिष्ट गरिमा र ऐतिहासिक महत्व रहेको बताए।

पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जानु चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै उनले विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा निरन्तर प्रयास गरिरहेको जानकारी दिए। साथै नेपाल विश्वविद्यालयले क्याम्पस सञ्चालनका लागि जग्गा उपलब्ध गराउन आग्रह गरेको विषय पनि उनले कार्यक्रममा जानकारी गराए।

पूर्व विद्यार्थी तथा नेकपा एमालेका केन्द्रीय सदस्य रश्मी आचार्यले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै समग्र विकासका लागि सबै सरोकारवालाको एकतावद्ध प्रयास आवश्यक रहेको धारणा राखे। विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद बस्ताकोटीले विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा आगामी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे।

कार्यक्रममा वडा नं. ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, पूर्व विद्यार्थी तथा पोखरा शहरी योजना आयोगका पूर्व उपाध्यक्ष प्रेमलाल लामिछाने, एनआइएमबी बैंकका सञ्चालक मदन आचार्य, शिक्षक देवराज शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

समारोहका अवसरमा विद्यालयद्वारा आयोजित वडा स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरू, विभिन्न कक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने विद्यालयलाई सहयोग गर्ने सहयोगदाताहरूलाई सम्मान गरिएको थियो। यसै अवसरमा ग्रिन डेभलपमेन्ट बैंकको तर्फबाट विद्यालयलाई एक थान कलर प्रिन्टर सहयोगस्वरूप हस्तान्तरण गरिएको थियो। विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिले समारोहलाई थप उल्लासमय बनाएको थियो।

कमेन्ट गर्नुहोस्
Share: