पोखरा महोत्सवको विशेष अफरः मात्र २५ सयमै मुक्तिनाथ दर्शन, खाना-खाजा निःशुल्क

Share:

पोखरा । पोखराको अमरसिंह चौरमा जारी १४ औँ पोखरा महोत्सवले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित दर्शकका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । महोत्सव स्थलबाट पोखरा-जोमसोम-मुक्तिनाथ दुईतर्फी यात्रा मात्र २५ सय रुपैयाँमा गराइने भएको छ ।

सामान्य अवस्थामा एकतर्फी मात्र १८ सय रुपैयाँ पर्ने पोखरा-मुक्तिनाथ यात्रा, महोत्सव आयोजक युनाइटेड क्लबले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीसँगको समन्वयमा अत्यन्तै सहुलियत दरमा उपलब्ध गराएको हो । महोत्सवका अतिरिक्त क्रियाकलाप संयोजक गणेश खड्काका अनुसार यात्रुहरूले आरामदायी १६ सिट क्षमताको ईभी हाइसमार्फत यात्रा गर्न पाउनेछन् ।

यात्रामा सहभागी हुन इच्छुकले पोखरा महोत्सवको सचिवालयमा नाम दर्ता गराउनुपर्नेछ । बस बिहान ४ बजे पोखराबाट प्रस्थान गरी साँझ ८ बजे पुनः पोखरा फर्किने तालिका तय गरिएको छ । यात्रुहरूका लागि एक छाक शाकाहारी खाना तथा खाजाको निःशुल्क व्यवस्था समेत गरिएको छ ।

संयोजक खड्काका अनुसार, एउटै स्थानबाट दुई वा सोभन्दा बढी यात्रु भएमा घरदैलो पिकअप तथा ड्रप सेवा समेत उपलब्ध गराइनेछ, जसले यात्रालाई अझ सहज बनाउनेछ ।

यसैबीच, महोत्सवको पाँचौँ दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । दर्शक संख्या बढेसँगै महोत्सवमा राखिएका व्यावसायिक स्टलहरूको कारोबारसमेत उत्साहजनक रूपमा वृद्धि भएको महोत्सवका अर्थ तथा स्टल व्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए ।

महोत्सवको पाँचौँ दिन लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । सपुतसँगै जीवन दाहाल, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, टेक क्षेत्री, इन्द्रा गुरुङ, निश्चल थापा मगर, बिनिता क्षेत्री लगायतका कलाकारले प्रस्तुति दिएका थिए । साँझको लाइभ कन्सर्टमा सुरताल ब्याण्ड र अनुप्रस्थको प्रस्तुतिले युवाहरूको उल्लेख्य भीड तानेको थियो ।

महोत्सवको छैठौँ दिन लोकदोहोरीतर्फ समीक्षा अधिकारी, राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुति रहनेछ । त्यस्तै, साँझको लाइभ कन्सर्टमा चर्चित गायक दुर्गेश थापाको प्रस्तुति रहने महोत्सव प्रचार-प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

धार्मिक यात्रा, व्यापारिक अवसर र सांस्कृतिक मनोरञ्जनलाई एउटै थलोमा जोड्न सफल पोखरा महोत्सव दर्शकका लागि अझै आकर्षक बन्दै गएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: