
पोखरा । नेकपा एमालेले आगामी माघ ६ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकी प्रदेशका सबै १८ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। शनिबार करिब ७ घण्टा लामो सचिवालय बैठकपछि एमालेले गण्डकीका ११ वटै जिल्लामा पुराना स्थापित नेतादेखि नयाँ र चर्चित अनुहारसम्मलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो।
पूर्वमुख्यमन्त्री तथा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट पुनः उम्मेदवार बनेका छन् भने पर्वतबाट पदम गिरीले फेरि चुनाव लड्ने भएका छन्। कास्की-१ बाट बैनबहादुर क्षेत्री, कास्की-२ बाट कृष्ण थापा तथा कास्की-३ बाट दामोदर बैरागीलाई उम्मेदवार बनाएको छ।
गोरखामा एमालेले सबैको ध्यान खिच्ने निर्णय गर्दै गोरखा-१ बाट आर.सी. लामिछाने तथा गोरखा-२ बाट मिलन गुरुङ (चक्रे मिलन) लाई टिकट दिएको छ। तनहुँमा भगवती न्यौपाने र केदार सिग्देल मैदानमा उत्रँदा,स्याङ्जामा मीनप्रसाद गुरुङ र खिमबहादुर थापा उम्मेदवार बनेका छन्। खिमबहादुर कालीगण्डकी गाउँपालिकाका वर्तमान अध्यक्षसमेत हुन्।
हिमाली जिल्ला मुस्ताङबाट इन्द्रधारा विष्ट र मनाङबाट पोल्देन सोताङ गुरुङलाई एमालेले टिकट दिएको छ। नवलपुरबाट भागीरथ सापकोटा, तिलबहादुर महत क्षेत्री, म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ तथा बागलुङबाट हिरा केसी र मञ्जु शर्मा चालिसेलाई टिकट दिएको छ।
सचिवालय बैठकले गण्डकीसँगै देशभरका अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा-५ बाट उम्मेदवार बनाउने निर्णय गरिएको छ भने ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने संकल्प पनि पार्टीले दोहोर्याएको छ।
उपाध्यक्ष विष्णु पौडेललाई पाल्पा क्षेत्र नम्बर २ बाट टिकट दिएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार केही सीमित क्षेत्रमा उम्मेदवार चयन बाँकी रहेकाले त्यसलाई अध्यक्ष ओलीले थप छलफलपछि अन्तिम रूप दिनेछन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
