
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको एकताले मूर्त रूप पाएको छ।आइतबार महानगरका मेयर बालेन औपचारिक रुपमा रास्वपा प्रवेश गरे ।
रास्वपा र बालेनबीच पुस १३ गते राति सहमतिको ७ बुँदे समझदारी भएको थियो । सहमतिको २२ औँ दिनमा बालेन काठमाडौँ महानगर प्रमुखबाट राजीनामा दिएर रास्वपा मुख्यालय घण्टीघर बनस्थली पुगेका हुन् ।
पार्टी कार्यालयमा प्रवेश गर्नु अघि उनले महानगरको मेयरबाट स्वइच्छाले राजीनामा दिएको घोषणा गरेका थिए । रास्वपासँगको सहमतिअनुसार उनी रास्वपाको वरिष्ठ नेता हुन् भने फागुन २१ मा हुने निर्वाचनमा उनी रास्वपाकोतर्फबाट प्रधानमन्त्रीका उम्मेदवार हुन् ।
मेयर शाह रास्वपाको तर्फबाट फागुन २१ म हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्दैछन् । आइतबार अपरान्ह साढे ३ बजे बनस्थलीस्थित घण्टीघर पुगेका बालेनलाई रास्वपाले भव्य स्वागत गरेको थियो ।
सयौँका सङ्ख्यामा रहेका रास्वपा नेता कार्यकर्ताले पार्टी कार्यालयको परिसरमा बालेनको स्वागत गरेका थिए । ठेलमठेल भीडलाई छिचोल्दै बालेन पार्टी मुख्यालय परिसरमा रहेको पार्टीको घण्टी रहेका स्थानमा पुगेका थिए।
जहाँ उनलाई रास्वपा सभापति रवि लामिछाने र उपसभापति डोल प्रसाद अर्याल (डीपी) ले स्वागत गरेका थिए । निकै उत्साहित मुद्रामा रास्वपा पार्टी कार्यालय पुगेका बालेनले जोडदार रुपमा घण्टी बजाए र अघिल्तिर रहेका पार्टीका कार्यकर्ता र शुभेच्छुकमाझ फ्लाइङ किस र नमस्कारको अभिवादन गरे ।
त्यसपछि बालेनले रास्वपा सभापति रवि लामिछानेलाई अँगालो हाले । रास्वपा सभापति रवि लामिछाने र बालेन एउटै अँगालोमा बाँधिदा घण्टी घरमा उत्सव छाएको थियो ।
लगत्तै बालेनलाई सभापति रवि लामिछानेले पार्टी कार्यलयमा तयार पारिएको नयाँ कार्यकक्षमा वरिष्ठ नेताको पदभार ग्रहण गराएका थिए । यसपछि शाह पार्टीको केन्द्रिय समिति बैठकमा सहभागी भएका थिए ।
