
पोखरा। पोखराको अमर सिंह खेल मैदानमा जारी पोखरा महोत्सव दर्शकहरूका लागि मनोरञ्जनसँगै आकर्षक अफर र सुविधाले थप रोमाञ्चक बनेको छ। महोत्सव आयोजक युनाइटेड क्लबले मुख्य प्रायोजक तथा अन्य प्रायोजकहरूसँगको सहकार्यमा दर्शकलाई लक्षित गर्दै विभिन्न छुट, उपहार र भाग्यशाली पुरस्कारको व्यवस्था गरेको छ।
महोत्सवमा सहभागी दर्शकका लागि २५ सय रुपैयाँमै दुईतर्फी मुक्तिनाथ दर्शन यात्राको विशेष अफर ल्याइएको छ। पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीसँगको सहकार्यमा सञ्चालन हुने यस यात्रामा महोत्सवको सचिवालयमा नाम टिपाएका दर्शकलाई इभी बसमार्फत पोखरा-मुक्तिनाथ-पोखरा यात्रा, निःशुल्क शाकाहारी खाना तथा खाजाको समेत व्यवस्था गरिएको अतिरिक्त व्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले जानकारी दिए।
महोत्सवको मुख्य प्रायोजक बेटर होम एप्लायन्सले स्टलबाट एक हजार रुपैयाँको सामान खरिद गर्दा कुपन उपलब्ध गराई भाग्यशाली उपभोक्तालाई आकर्षक पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। प्रायोजक उपसमिति संयोजक सूर्यबहादुर बानियाँका अनुसार प्रथम पुरस्कारमा एक टनको बेटर एसी, दोस्रोमा १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर वा मोनाको गिजर, तेस्रोमा बेटर ब्रेथ ९० ग्लास हुड चिम्नी, चौथोमा रेडियान्स भ्याकुम क्लिनर तथा सान्त्वना पुरस्कारमा एमिनेट एयर फ्रायर प्रदान गरिनेछ। भाग्यशाली विजेताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्वारा स्टेजमै गरिनेछ।
त्यसैगरी बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले महोत्सव अवधिभर दैनिक ५ जना भाग्यशाली दर्शकलाई निःशुल्क केबलकार टिकट प्रदान गरिरहेको छ। भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले स्टलबाट भर्ना भएका विद्यार्थीलाई भाषा कक्षामा ५० प्रतिशत छुट, गिफ्ट ह्याम्पर तथा दैनिक एक जनालाई निःशुल्क भाषा कक्षाको अवसर प्रदान गरिरहेको छ।
ग्रुमिङ पार्टनर बबी ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सवको टिकट देखाएमा ब्यूटिसियन कोर्स तथा सेवामा ३० प्रतिशत छुट दिइरहेको छ भने फुड पार्टनर पोखरा सेकुवा घरले टिकटको अर्धकट्टी देखाउँदा आफ्ना खाद्य परिकारमा १० प्रतिशत छुट उपलब्ध गराइरहेको छ।
महोत्सवमा कान्तिपुर डेन्टल हस्पिटलद्वारा दैनिक निःशुल्क दाँत परीक्षण भइरहेको छ। साथै टिकटक प्रतियोगितामा लाइकको आधारमा प्रथम हुने सहभागीलाई ८८आशिष इन्स्टिच्युट प्रा।लि।८८को तर्फबाट २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। महोत्सवको टिकट रेभल एपमार्फत अनलाइन बुकिङ गर्न सकिने प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।
त्यसैगरी एप पार्टनर ‘वी पोखरा’को एप महोत्सव अवधिभर ३० हजार डाउनलोड पुगेमा तीमध्ये एक जनालाई आइफोन १७ प्रो प्रदान गरिने घोषणा गरिएको छ।
महोत्सवमा आइतबारदेखि छेलो प्रतियोगिता सुरु भएको छ भने गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता पनि सुरु भएको छ। आइतबार पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञानगंगा स्कुलले प्रस्तुति दिएका थिए भने सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूति शिक्षा सदनले प्रस्तुति दिने प्रतियोगिता संयोजक विष्णुकुमार गुरुङले जानकारी दिए।
महोत्सवको छैटौँ दिन समीक्षा अधिकारीको प्रस्तुति तथा लोकदोहोरी कलाकार राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईंलगायतको प्रस्तुतीमा दर्शकले भरपूर मनोरञ्जन लिए। साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुतीमा युवाहरू झुमे।
महोत्सवको सातौँ दिन सोमबार लोकदोहोरीतर्फ अर्जुन सापकोटा, चोलेन्द्र पौडेल, रामजी पौडेल, सरिता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाललगायतको प्रस्तुति रहनेछ भने साँझको लाइभ कन्सर्टमा लेकाली ब्याण्डको प्रस्तुति रहने प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।
