एसइई परीक्षा चैत १९ देखि सुरु हुने, निर्वाचनका कारण १२ दिन ढिलो

Share:

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको औपचारिक तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ। त्यसपछि चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि र २४ गते सामाजिक अध्ययन विषयको परीक्षा हुनेछ।

त्यस्तै, चैत २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र चैत २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा तोकिएको छ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते प्राविधिक धारअन्तर्गतका बाँकी विषयहरूको परीक्षा सञ्चालन गरिनेछ।

यस वर्ष फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तय भएकाले एसइई परीक्षा गत वर्षको तुलनामा १२ दिन ढिलो हुन लागेको बोर्डले जनाएको छ। गत वर्ष एसइई परीक्षा चैत ७ गतेदेखि सुरु भएको थियो।

परीक्षा नजिकिँदै जाँदा विद्यार्थी, अभिभावक र विद्यालयहरू तयारीमा जुट्न थालेका छन् भने बोर्डले परीक्षा मर्यादित, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: