नेसनल प्याव्सन कास्कीको विद्यार्थी अभिमुखीकरण सम्पन्न

Share:

पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सन कास्कीले शैक्षिक सत्र २०८२ मा कक्षा १० मा अध्ययनरत आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरूका लागि विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

विहीबार पोखरा महानगरपालिका-२६ स्थित नमस्ते पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेसनल प्याव्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई अध्ययनप्रति रुचि बढाउने उपाय, सिकाइका क्रममा देखिने चुनौती र तिनको समाधानबारे विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रमका मुख्य सहजकर्ता, संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रमका प्रशिक्षक उत्तम दाहालले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, समय व्यवस्थापन, सकारात्मक सोच र निरन्तर अभ्यासमार्फत शैक्षिक सफलता हासिल गर्न सकिने विषयमा प्रेरणादायी अभिमुखीकरण दिएका थिए।

उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले बदलिँदो शैक्षिक परिवेशमा सिकाइ प्रक्रियालाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट लगायतले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमका क्रममा सहभागी विद्यार्थीहरूले आफ्ना अनुभव र जिज्ञासा प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन उपाध्यक्ष विकल पौडेलले गरेका थिए भने अध्यक्ष रोशन कोइरालाले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए।

यसै अवसरमा नयाँ सदस्य विद्यालयहरूलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो। नेसनल प्याव्सन कास्कीले विद्यार्थीको शैक्षिक क्षमता विकास र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: